प्रतिनिधिसभा निर्वाचन नजिकिँदै, आयोगको तयारी तीव्र
प्रकाशित मिति
२०८२ मंसिर २१ गते, आईतवार ०९:३६
मंसिर २१, २०८२ काठमाडौं— प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा निर्वाचन आयोगले तयारी तीव्र पारेको छ। आगामी फागुन २१ गते हुनेगरी तय गरिएको निर्वाचनको अब ८८ दिन मात्र बाँकी छ।
निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूले पनि आन्तरिक तयारीलाई गति दिएका छन्। आयोगले आजदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फका कार्यक्रम औपचारिक रूपमा सुरु गरेको छ। समानुपातिकतर्फका लागि दलहरूले आज बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म आवेदन दर्ता गर्नुपर्नेछ। दर्ता भएका दलको सूची मंसिर २४ गते प्रकाशित गरिनेछ।
समानुपातिक उम्मेदवारको बन्दसूची आगामी पुस १३ र १४ गते बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म पेस गर्न दलहरूलाई समय तोकिएको छ। बन्दसूचीको अन्तिम प्रकाशन माघ ३० गते गर्ने कार्यक्रम छ। २७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिक प्रणालीमार्फत ११० सदस्य चयन हुने प्रावधान छ।
यता प्रत्यक्ष तर्फको निर्वाचन कार्यक्रमअनुसार माघ ६ गते उम्मेदवारले मनोनयनपत्र दर्ता गर्नुपर्नेछ। सोही दिन प्रारम्भिक उम्मेदवार सूची प्रकाशित गरिनेछ। माघ ७ गतेसम्म मनोनयनविरुद्ध उजुरी दिने समय तोकिएको छ। माघ ८ गते उम्मेदवारको नामावली प्रकाशन हुनेछ भने माघ ९ गते उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन्। सोही दिन अन्तिम सूची प्रकाशन गरी उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ।
निर्वाचनसम्बन्धी सम्पूर्ण तयारी निर्धारित समयसीमाअनुसार अघि बढिरहेको आयोगले जनाएको छ।






प्रतिकृया