एमालेबाट विद्रोह गर्नु जीवनकै सबैभन्दा ठूलो भूल भयो : कृष्णकुमार श्रेष्ठ
प्रकाशित मिति
२०८२ कार्तिक २४ गते, सोमबार ०५:२५
काठमाडौं, कार्तिक २४ — नेकपा एमालेमा पुनः समाहित भएका नेता कृष्णकुमार श्रेष्ठ (किसान) ले एमालेबाट अलग हुनु आफ्नो जीवनकै सबैभन्दा ठूलो गल्ती भएको बताएका छन्। सोमबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित एमालेको ‘घर फर्क अभियान’ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
श्रेष्ठले पार्टीमा फर्कनु आफू र आफ्ना साथीसँगका लागि जीवनको सत्य क्षण भएको उल्लेख गर्दै भने, “हामीजस्ता पार्टीमा फर्किन आएका साथीहरूको जीवनको यो सबैभन्दा सत्य क्षण हो। विगतमा विभिन्न कारणले हामी पार्टीमा विग्रहमा लागेका थियौं, तर त्यो हाम्रो जीवनकै सबैभन्दा ठूलो भूल भयो — समयले पनि यही कुरा प्रमाणित गरेको छ।”
उनले अब जनताको भरोसा पुनः जित्नेगरी अघि बढ्ने प्रतिबद्धता जनाए। “हामी फेरि जनताको भरोसा जित्नेछौं, फेरि राष्ट्र निर्माणको अग्रपंक्तिमा रहनेछौं। यो फर्काइ केवल राजनीतिक निर्णय होइन, जनताको बीच फर्कने यात्राको सुरुवात हो,” श्रेष्ठले भने।
श्रेष्ठले अहिले केही सय नेता–कार्यकर्ता मात्र अभियानमा जोडिएको भए पनि देशभर आफूजस्ता बाटो बिराएका कमरेडहरू क्रमशः एमालेमा फर्कने दाबी गरे। “यो अभियानको सुरुवात मात्रै हो। देशभर किसान श्रेष्ठजस्ता बाटो बिराएका साथीहरू क्रमशः पार्टीमा फर्किनेछन्,” उनले थपे।







प्रतिकृया