नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि
प्रकाशित मिति
२०८२ कार्तिक १४ गते, शुक्रबार ०९:३९
कात्तिक १४, २०८२ काठमाडौं— नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि जारी रहने भएको छ। बैठक आज दिउँसो १ बजेबाट पार्टी केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, ललितपुरमा सुरु हुने कार्यक्रम छ।
गत असोज २८ गतेदेखि सुरु भएको बैठकमा भदौ २३ र २४ गतेका ‘जेनजी आन्दोलन’, अन्तरिम सरकारको गठन र प्रतिनिधिसभा विघटनपछि उत्पन्न राजनीतिक परिस्थिति तथा त्यसमा कांग्रेसको भूमिकाबारे छलफल केन्द्रित गरिएको जनाइएको छ। पार्टीका प्रवक्ता प्रकाशशरण महतका अनुसार, जारी बैठकमा धारणा राख्ने अधिकांश केन्द्रीय सदस्यले निर्वाचनपछि मात्रै महाधिवेशन गर्नु उपयुक्त हुने राय प्रस्तुत गरेका छन्।
हिजोको बैठकमा मानबहादुर विश्वकर्मा, कृष्णचन्द्र नेपाली पोखरेल, बहादुरसिंह (लामा) तामाङ, रमा कोइराला, टेकप्रसाद गुरुङ, राजेन्द्रकुमार केसी, रङ्गमती शाही, मदनकृष्ण श्रेष्ठ, सीताकुमारी राना, विद्यादेवी तिमिल्सिना, शान्ति परियार विक, लक्ष्मी खतिवडा, आमन्त्रित केन्द्रीय सदस्य पुष्पराज पराजुली र आमन्त्रित प्रदेश सभापतिहरू इन्द्रबहादुर बानियाँ (बागमती) तथा अमरसिंह पुन (लुम्बिनी)ले आफ्ना धारणा राखेका थिए।
बैठकमा आज पनि थप केन्द्रीय सदस्यहरूले महाधिवेशन, पार्टी संगठन र हालको राजनीतिक अवस्थाबारे आफ्ना विचार प्रस्तुत गर्ने बताइएको छ।







प्रतिकृया