खाद्य व्यवस्था तथा व्यापार कम्पनीले १३ केन्द्रबाट धान खरिद गर्ने
प्रकाशित मिति
२०८२ कार्तिक ९ गते, आईतवार ०८:१२
कात्तिक ९, २०८२ काठमाडौं— खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान उत्पादनका पकेट क्षेत्रलाई आधार मानी १३ वटा खरिद केन्द्रहरू सञ्चालन गर्ने निर्णय गरेको छ। शनिबार कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यको अध्यक्षतामा बसेको बैठकले सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्ने निर्णय गरेको हो।
बैठकले यस वर्ष धान खरिदका लागि महेन्द्रनगर, धनगढी, राजापुर, नेपालगञ्ज, जुम्ला, तुलसीपुर, भैरहवा, पोखरा, वीरगञ्ज, लहान, जनकपुर, विराटनगर र बिर्तामोड गरी देशभरका १३ स्थानमा खरिद केन्द्र सञ्चालन गर्ने निर्णय गरेको छ।
त्यस्तै, कम्पनीका प्रादेशिक, मुख्य शाखा र शाखा कार्यालयहरूले स्थानीय तहसँग समन्वय गरी आवश्यक परे थप उपकेन्द्रहरू स्थापना गर्न सक्ने निर्णय पनि बैठकले गरेको छ। धान खरिदका क्रममा कम्पनीको भण्डार गृहको क्षमता नपुग्ने अवस्था आएमा खुला स्थानमा सञ्चय गरी स्थानीय प्रशासनको सहयोगमा धानको सुरक्षा गर्ने तथा सोको बीमा गर्ने व्यवस्था मिलाइने भएको छ।
साथै, बजारमा उपलब्ध चामलको मूल्य र कम्पनीले खरिद गर्ने न्यूनतम समर्थन मूल्यबीचको फरक रकम नेपाल सरकारबाट प्राप्त गर्न अर्थ मन्त्रालयसँग सञ्चालक समितिमार्फत पत्राचार गर्ने निर्णय पनि बैठकले गरेको छ। कम्पनीले तोकेको गुणस्तर र मापदण्डअनुरूपको धान मात्र खरिद गर्ने र त्यसको सुनिश्चितता खरिद केन्द्रका गुणस्तर प्राविधिक कर्मचारीमार्फत गर्ने व्यवस्था गरिएको छ।






प्रतिकृया