यात्रा गर्दै हुनुहुन्छ ? हेर्ननुहोस् राजमार्गको पछिल्लो अवस्था (सूचीसहित)
प्रकाशित मिति
२०८२ आश्विन २१ गते, मंगलवार १०:३८
असोज २१, २०८२ काठमाडौं- देशका प्रमुख राजमार्गहरू अविरल वर्षाका कारण अवरुद्ध भएका छन्। नेपाल प्रहरीले आज बिहान ९ बजेसम्मको तथ्यांक सार्वजनिक गर्दै कोशी, बीपी, पासाङ ल्हामु, मेची र मध्य पहाडी लोकमार्गसहितका सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएको जानकारी दिएको छ।
संखुवासभाको वरुणखोला र एकुवा क्षेत्रमा निरन्तर वर्षाका कारण कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। यस क्षेत्र हुँदै यात्रा गर्न चाहने यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ। ललितपुरको तिनपाने र टीकाभैरवको बीचमा पहिरो खसेपछि कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध भएको छ। त्यस्तै, मकवानपुरको वगुवा खोला र घट्टेपाखा क्षेत्रमा अवरुद्ध भएको सडक एकतर्फी मात्र सञ्चालनमा रहेको छ।
सिन्धुलीको नेपालथोक र काभ्रेको विभिन्न स्थानहरूमा पहिरो खसेपछि बीपी राजमार्ग पूर्ण रूपमा ठप्प भएको छ। यसले काभ्रे–सिन्धुली–तराई जोड्ने मुख्य मार्गमा आवागमन प्रभावित भएको छ। रसुवामा बाढी र पहिरोका कारण पासाङ ल्हामु राजमार्ग पनि पूर्ण रूपमा बन्द भएको प्रहरीको भनाइ छ। यो सडकखण्ड रसुवा हुँदै चीनतर्फ आवागमनका लागि प्रयोग हुने प्रमुख नाका हो। ईलामका विभिन्न स्थानमा भारी वर्षा र भोजपुरमा पहिरो खसेपछि मेची राजमार्ग र मध्य पहाडी लोकमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएका छन्।
नेपाल प्रहरीले पहिरो प्रभावित क्षेत्र आसपास यात्रा नगर्न, आवश्यक भएमा स्थानीय प्रशासन वा ट्राफिक कार्यालयसँग सम्पर्क गरी जानकारी लिएपछि मात्र यात्रा गर्न अनुरोध गरेको छ। निरन्तरको वर्षाले पहिरोको जोखिम अझै कायमै रहेकाले सडक अवरुद्धको अवस्था थप बिग्रिन सक्ने प्रहरीको चेतावनी छ।









प्रतिकृया