भारतको सर्वोच्च अदालतमा प्रधानन्यायाधीशमाथि जुत्ता प्रहार
प्रकाशित मिति
२०८२ आश्विन २० गते, सोमबार ०६:२०
असोज २०, २०८२ काठमाडौं- भारतको सर्वोच्च अदालतमा सोमबार एक अनौठो र गम्भीर घटना घट्यो। ७१ वर्षीय अधिवक्ता राकेश किशोरले प्रधानन्यायाधीश बीआर गवाईमाथि जुत्ता प्रहार गरेका छन्।
सोमबार बिहान ११:३५ बजे अदालत नम्बर १ मा चलिरहेको इजलासका क्रममा किशोरले आफ्नो स्पोर्ट्स जुत्ता निकालेर प्रधानन्यायाधीशमाथि फ्याँकेका थिए। घटना लगत्तै सुरक्षाकर्मीहरूले उनलाई नियन्त्रणमा लिएर सर्वोच्च अदालतको सुरक्षा एकाइको जिम्मा लगाएका छन्।
दिल्ली प्रहरीका अनुसार, आक्रमणकारी किशोर मयुर विहार क्षेत्रका बासिन्दा हुन् र सर्वोच्च अदालत बार एसोसिएसनका दर्तावाल सदस्य पनि हुन्।प्रारम्भिक अनुसन्धानमा खुला भएअनुसार, उनी मध्य प्रदेशको खजुराहोस्थित भगवान् विष्णुको मूर्ति जीर्णोद्धारसम्बन्धी मुद्दामा प्रधानन्यायाधीश गवाईले गरेको टिप्पणीबाट असन्तुष्ट थिए। सोही असन्तुष्टिका कारण उनले आक्रोश पोखेका हुन्।
घटनापछि पनि प्रधानन्यायाधीश गवाई शान्त र विचलित नभएको बताइएको छ। उनले इजलासमा वकिलहरूलाई सामान्य रूपमा कारबाही अघि बढाउन आग्रह गरेका थिए। अदालतबाट निकालिँदै गर्दा राकेश किशोरले “सनातन धर्मको अपमान हिन्दुस्तानले सहने छैन” भन्ने नारासमेत लगाएका थिए, द इन्डियन एक्सप्रेसले उल्लेख गरेको छ।
हाल उनलाई हिरासतमा राखिएको छ र दिल्ली प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ। यस घटनाले भारतको सर्वोच्च न्यायालयको सुरक्षा प्रबन्धमाथि प्रश्न उठाएको छ।








प्रतिकृया