बाढी–पहिरो जोखिम : प्रधानमन्त्री कार्यालयको उच्च सतर्कता अपनाउन आग्रह
प्रकाशित मिति
२०८२ आश्विन १८ गते, शनिबार ०८:५८
असोज १८, २०८२ काठमाडौं- असोज २० गतेसम्म देशका विभिन्न भागमा भारी वर्षा भई बाढी र पहिरोको जोखिम उच्च हुने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानका आधारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले देशभर उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। शुक्रबार जारी गरिएको विज्ञप्तिमा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुन सक्रिय रहेकाले ती क्षेत्रमा भारीदेखि अति भारी वर्षा हुनसक्ने उल्लेख छ। यसले गर्दा नदीनाला र खोलानालाको सतह आकस्मिक रूपमा बढ्न सक्ने, साथै बाढी, पहिरो, डुबान, कटान र भूक्षयजस्ता विपद् जोखिम बढ्ने चेतावनी दिइएको छ।
विज्ञप्तिअनुसार विशेषगरी मधेश प्रदेशको बारा, पर्सा, रौतहट, सर्लाही र आसपासका जिल्ला, बागमती प्रदेशको काठमाडौँ उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, चितवन कोशी प्रदेशको संखुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ नदी क्षेत्र नारायणी, बागमती, कोशी र कर्णाली नदी तथा ती क्षेत्र आसपासका बस्तीहरू संवेदनशील समूहलाई सुरक्षित स्थानमा सार्न आग्रह गरेको छ ।
कार्यालयले गर्भवती महिला, बालबालिका, वृद्धवृद्धा तथा अपांगता भएका व्यक्तिहरूलाई जोखिमयुक्त स्थानबाट सुरक्षित स्थानमा सार्न आग्रह गरेको छ। साथै, सम्भावित जोखिम क्षेत्रका स्थानीय तहहरू, विपद् व्यवस्थापन समिति, सुरक्षाकर्मी, स्वयंसेवक तथा सरोकारवाला निकायहरूलाई पूर्वतयारी, राहत तथा उद्धार कार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ।
सरकारले नागरिकहरूलाई मौसम अपडेटहरू निरन्तर अनुगमन गर्न, आवश्यक नपरी घर बाहिर ननिस्कन, नदी तथा पहाड नजिकको यात्रा नगर्न, र स्थानीय प्रशासन तथा सुरक्षाकर्मीको निर्देशन पालना गर्न अपील गरेको छ। देशका प्रमुख भूभागमा सक्रिय मनसुनको प्रभावले गम्भीर प्रकृतिका प्राकृतिक विपद् आउन सक्ने अवस्था रहेको भन्दै सरकारले उच्च सतर्कता र पूर्वतयारीका साथ विपद् व्यवस्थापनमा जुट्न सबै पक्षलाई आह्वान गरेको छ।






प्रतिकृया