आपतकालीन अवस्था आएमा सशस्त्र प्रहरीलाई १११४ मा सम्पर्क गर्न आग्रह
प्रकाशित मिति
२०८२ आश्विन १८ गते, शनिबार ०९:०७
असोज १८, २०८२ काठमाडौं- जल तथा मौसम विज्ञान विभागले असोज १७ देखि २० गतेसम्म देशका अधिकांश स्थानमा भारीदेखि अति भारी वर्षा हुने प्रक्षेपण गरेसँगै सम्भावित बाढी तथा पहिरोको जोखिम न्यूनीकरणका लागि सशस्त्र प्रहरी बल नेपालले उच्च सतर्कता अपनाएको छ।
शुक्रबार साँझदेखि काठमाडौँ उपत्यकाका जोखिमयुक्त क्षेत्रहरू – चोभार, बल्खु, बालाजु, माछापोखरी र वनस्थलीलगायत स्थानमा ‘पट्रोलिङ’ र ‘माइकिङ’ सुरु गरिएको सशस्त्र प्रहरी बलका सह–प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।
सशस्त्र प्रहरीले खोला किनार र डुबानको सम्भावित क्षेत्रहरू पहिचान गरी स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा बस्न, सतर्क रहन र आपत्कालीन अवस्थामा १११४ मा फोन गर्न आग्रह गरेको छ। सशस्त्र प्रहरी बलले देशभरका युनिटहरूलाई विपद् पूर्व तयारी र प्रतिकार्यका लागि तयारी अवस्थामा राखेको जनाएको छ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सबै युनिटलाई आवश्यक स्रोत, साधन र जनशक्ति तयारी अवस्थामा राख्न निर्देशन दिएका छन्।
सशस्त्र प्रहरीका अनुसार, उद्धारका उपकरण तथा जनशक्ति तयारीमा गोताखोर टोली, विपद् उद्धार तालिम प्राप्त जनशक्ति, र्याफ्ट बोट, मोटरबोट, हेभी इक्युपमेन्ट, एम्बुलेन्स आदि उपकरणहरू तयारी अवस्थामा राखिएको छ।
यसैबीच, गृहमन्त्री ओमप्रकाश अर्यालले आज सशस्त्र प्रहरी बलको उपत्यकास्थित इकाइहरूको विपद् पूर्व तयारी र परिचालन अवस्थाबारे निरीक्षण गरेका छन्। कार्य विभाग प्रमुख अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेल तथा उपत्यकास्थित युनिटका कमान्डरहरूले गृहमन्त्रीलाई तयारीबारे जानकारी गराएको सह–प्रवक्ता थापाले बताए।






प्रतिकृया