जेनजी विद्रोहपछि योगेश भट्टराईको सन्देश: एमाले पुनर्गठन आवश्यक
प्रकाशित मिति
२०८२ आश्विन ९ गते, बिहीबार ०१:५०
असोज ९, २०८२ काठमाडौं– नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी पुनःगठनको अपिल गरेका छन्। हालै सार्वजनिक गरिएको एक भिडियो सन्देशमार्फत उनले जेनजी विद्रोहपछि बदलिएको सामाजिक–राजनीतिक अवस्थालाई मनन गर्दै एमालेभित्र गम्भीर आत्मसमीक्षा र सांगठानिक पुनर्संरचनाको खाँचो औंल्याएका हुन्।
भट्टराईले इतिहासमा पार्टीले संकटका बेला लिएको पुनःगठनको बाटो सम्झाउँदै अहिले पनि त्यस्तै निर्णायक मोडमा पार्टी उभिएको धारणा राखे। “इतिहासका हरेक संकटका हरेक घुम्ती र मोडहरूमा हामी पुनर्गठित भएको सत्यलाई पनि हामीले मनन गर्नु जरुरी छ,” भट्टराईले भने, “त्यही स्वीकारोक्ति सहितको अभियानका लागि अपिल गर्दछु। आत्मभर्त्सना बन्द गरौं, आत्मसमीक्षा डटेर गरौं।”
उनको भनाइमा, संकटका बेला आन्दोलन र पुनःगठनका थुप्रै उदाहरण एमालेको इतिहासमा छन्। उनले विशेषगरी २०६१ माघ १९ गतेको घटनालाई स्मरण गर्दै, त्यसबेला पनि पार्टीभित्रको युवा पुस्ताले पुनःगठनको बहस अघि बढाएको बताए।
“तत्कालीन राजा ज्ञानेन्द्रले संविधान र लोकतन्त्रमाथि ‘कू’ गर्दा पनि समाज र पार्टीमा आजको जत्तिकै सन्नाटा थियो। तर युवा पुस्ताले अग्रसरता लिँदै नवौं महाधिवेशनसम्म पुनःगठनको एजेन्डा पुर्यायो,” उनले स्मरण गरे।
भट्टराईले पार्टी पुनःगठनले नेतृत्वको पनि सम्मान हुने तर कमजोरी लुकाउनाले पार्टीलाई अझ कमजोर बनाउने धारणा व्यक्त गरे। उनले लेनिनको भनाइ उद्धृत गर्दै भने, “क्रान्तिकारी आन्दोलनले आफ्ना कमजोरीलाई स्वीकार नगरेसम्म सुधार र प्रगति सम्भव हुँदैन। कमजोरी लुकाउनु भनेको दुश्मनलाई बलियो बनाउने हो।”
सचिव भट्टराईको यो सार्वजनिक अपिलले एमालेभित्रको वर्तमान असन्तोष र पुनर्संरचनाको बहसलाई अझ तीव्र बनाउने संकेत देखिएको छ।







प्रतिकृया