गृहसचिव दुवाडी हटाइए, रामेश्वर दंगाल नियुक्त
प्रकाशित मिति
२०८२ आश्विन ७ गते, मंगलवार ०१:२६
असोज ७, २०८२ काठमाडौं– सरकारले गृहसचिव गोकर्णमणि दुवाडीलाई पदबाट हटाउँदै रक्षासचिव रहेका रामेश्वर दंगाललाई नयाँ गृहसचिव को जिम्मेवारी दिएको छ। जेन–जी आन्दोलनको दमनमा भूमिका खेलेको आरोप लागिरहेका दुवाडीमाथि चौतर्फी आलोचना भइरहेको बेला सरकारले प्रशासनिक नेतृत्व परिवर्तन गरेको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार, सचिवस्तरीय यो निर्णय मंगलबार वा बुधबारभित्र औपचारिक रूपमा कार्यान्वयनमा आउनेछ। नयाँ गृहसचिव बनेका रामेश्वर दंगाल यसअघि गृह मन्त्रालयमै क्याडर अधिकारी रहिसकेका अनुभवी प्रशासक हुन्। पछिल्लो समय उनी रक्षा मन्त्रालयका सचिवको भूमिकामा थिए। गृह प्रशासनमा पुनः जिम्मेवारी दिइएपछि दंगालसँग अब सुरक्षा संयन्त्र तथा प्रशासनिक संयोजनमा महत्त्वपूर्ण भूमिका रहनेछ।

पूर्व गृहसचिव दुवाडीलाई अहिले राष्ट्रिय योजना आयोगको सचिवालयमा सरुवा गरिएको स्रोतले जनाएको छ। उनी भिजिट भिसा प्रकरणमा पनि विवादित बनेका थिए, तर कानुनी रूपमा आरोपबाट उन्मुक्ति पाइसकेका थिए। पछिल्लो सरकार गठनपछि करिब डेढ सातासम्म उनी गृहसचिवकै जिम्मेवारीमा थिए।





प्रतिकृया