कर्ण थापालाई बोल्न नदिँदा ईश्वर पोखरेलसहित ४ उपाध्यक्षले मञ्चमै गरे प्रतिवाद
प्रकाशित मिति
२०८२ भाद्र २२ गते, आईतवार १०:४८
भदौ २२,२०८२ काठमाडौं – नेकपा (एमाले)को दोस्रो विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली र स्थायी कमिटी सदस्य कर्ण थापाबीच विवाद देखा परेको छ। महाधिवेशन अघि बसेको सचिवालय बैठकले स्थायी कमिटी सदस्य थापालाई फरक मत राख्न दिने निर्णय गरेको थियो, तर महाधिवेशन उद्घाटनकै क्रममा ओलीले थापालाई बोल्न नदिँदा विवाद उत्पन्न भएको हो।
महाधिवेशनको कार्यतालिकामा थापालाई १० मिनेट बोल्ने समय राखिएको थियो, तर शनिबार कार्यतालिकाबाट उनको बोल्ने समय हटाइयो। थापाले आफ्नो अडान राख्दै करिब ३० मिनेट सिटमै उभिए पनि मञ्चमा बोल्न पाउन सकेनन्।
उक्त घटनाप्रति बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, रामबहादुर थापा ‘बादल’, युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले प्रतिवाद गरेका थिए। एक पदाधिकारीका अनुसार, “सचिवालयमा भएको सहमति अनुसार कर्ण थापालाई बोल्न दिनु पर्ने हो, तर माइक अध्यक्षसँग हुँदा उनले समय दिनुभएन।”
यस्तै, विधान संशोधन प्रतिवेदनप्रति संगठन विभाग प्रमुख काशिनाथ अधिकारीले असन्तुष्टि जनाएका छन्। उनले प्रतिवेदनमा साधारण सदस्य थपिएकोमा आपत्ति जनाएका हुन्। यसअघि एमालेमा केवल संगठित सदस्य रहने व्यवस्था थियो।
महाधिवेशनमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रतिवेदन र महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन पेश गरेका थिए। प्रतिवेदनमाथि प्रतिनिधिहरूले समूहगत छलफलसमेत गरेका छन्। बागमती प्रदेशको समूहगत छलफलमा अधिकारीले असन्तुष्टि राखेको समाचार प्राप्त भएको छ।
स्थायी समिति बैठक र केन्द्रीय समिति बैठक स्थगित भएको कारण संगठन विभाग प्रमुखले प्रतिवेदनप्रति आफ्नो असहमति समूहगत छलफलकै क्रममा राखेका हुन्।








प्रतिकृया