मनाङ–२ मा पनि कात्तिक १७ गते उपनिर्वाचन हुने
प्रकाशित मिति
२०८२ भाद्र २० गते, शुक्रबार ०९:५४
भदौ २०,२०८२ काठमाडौं – हिमाली जिल्ला मनाङमा पनि कात्तिक १७ गते उपनिर्वाचन हुने भएको छ। निर्वाचन आयोगको बिहीबार बसेको बैठकले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ अन्तर्गत प्रदेशसभा (२) मा रिक्त पद पूर्तिका लागि उपनिर्वाचन गर्ने निर्णय गर्दै कार्यतालिका जिल्ला निर्वाचन कार्यालयलाई पठाएको हो।
यसअघि आयोगले रुपन्देही क्षेत्र नं. ३ को प्रतिनिधिसभा सदस्य पदमा पनि यही मितिमा उपनिर्वाचन गर्ने निर्णय गरेको थियो।रुपन्देहीमा राप्रपाबाट निर्वाचित सांसद दिपक बोहराको निधन र मनाङमा प्रदेशसभा सदस्य राजिव गुरुङ (दीपक मनाङे) आपराधिक गतिविधि सम्बन्धी मुद्दामा जेल परेपछि पद रिक्त भएकाले उपनिर्वाचन हुने भएको हो।

निमित्त प्रमुख निर्वाचन अधिकृत गोविन्दप्रसाद अर्यालका अनुसार मनाङ–२ उपनिर्वाचनको कार्यतालिका यस प्रकार रहेको छ ।
भदौ १३ निर्वाचन अवधि सुरु, भदौ २० निर्वाचन अधिकृतको कार्यालय स्थापना, असोज २१ उम्मेदवार मनोनयन दर्ता, असोज २५ उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा चुनाव चिन्ह वितरण, कात्तिक ११ मतदान अधिकृत, सहायक मतदान अधिकृत र अन्य कर्मचारीको नियुक्ति, कात्तिक १७ मतदान मिति, आयोगले देशभर अद्यावधिक भई भदौ २५ मा प्रकाशित अन्तिम मतदाता नामावलीलाई नै यस उपनिर्वाचनमा प्रयोग गर्ने जनाएको छ। मतदाताको उमेर सीमा कात्तिक १६ गतेसम्म १८ वर्ष पुगेकाहरूलाई तोकिएको छ।

गत निर्वाचनमा मनाङ जिल्लामा जम्मा ६ हजार ७७९ मतदातामध्ये ७१.४७ प्रतिशत अर्थात् ४ हजार ८४५ मत खसेका थिए। प्रदेशसभा क्षेत्र नं. २ मा मात्रै ४ हजार १९७ मतदाता रहेका थिए।




प्रतिकृया