एमालेको दोस्रो विधान महाधिवेशन आजदेखि सुरु
प्रकाशित मिति
२०८२ भाद्र २० गते, शुक्रबार १०:०३
भदौ २०,२०८२ गोदावरी – नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशन आज (शुक्रबार)देखि सुरु हुँदैछ। ललितपुरको गोदावरीस्थित सनराइज सभा हलमा बिहान ११ बजे एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।
महाधिवेशनको नारा यसपटक ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ राखिएको छ। महाधिवेशनमा २ हजार २६ जना प्रतिनिधि र ३१५ आयोजक गरी कुल २ हजार ३४१ जना सहभागी हुने एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्मराज अधिकारीले जानकारी दिएका छन्।

उद्घाटन समारोह परम्परागत शैलीभन्दा फरक हुनेछ। समारोहमा केवल १२ मिनेट समय लाग्नेछ भने उद्घाटन, स्वागत, शुभकामना मन्तव्यजस्ता कार्यक्रम रहने छैनन्। उद्घाटनमा मंगल धुन, सहिदको सम्झनामा शोक धुन, राष्ट्रिय धुन र अन्तर्राष्ट्रिय कम्युनिस्ट गीतको धुन बजाइनेछ। सभा हलभित्र धुन बजिरहँदा बाहिर मिडिया सेन्टरमा कलाकारहरूले आर्ट निर्माण गर्नेछन्, जसको प्रत्यक्ष प्रसारण हलभित्रै देखाइनेछ।

महाधिवेशन हलमा ४ वटा प्रवेशद्वार बनाइएको छ। पहिलो द्वार केवल ओलीको लागि हुनेछ भने अन्य पदाधिकारी, मन्त्री, मुख्यमन्त्री र प्रतिनिधिहरू दोस्रो र तेस्रो द्वारबाट छिर्नेछन्। अन्तिम द्वार क्याटरिङ्ग र पानी ढुवानीका लागि खुला गरिएको छ।
प्रतिनिधि, पर्यवेक्षक र स्वयंसेवकको प्रवेशका लागि ६ वटा कम्प्युटर स्क्यान बुथ राखिएको छ। हलमा छिर्नासाथ ओलीको पूर्णकदको तस्बिर र विधान महाधिवेशनको लोगो सजाइएको छ। साथै, भित्री भागमा २२ सय स्क्वारफिट डिजिटल बोर्ड जडान गरिएको छ।
मञ्चमा केवल १८ पदाधिकारी बस्ने व्यवस्था मिलाइएको छ। अघिल्लो खण्डमा अध्यक्ष ओली रहनेछन् भने अन्य पदाधिकारीहरू मर्यादाअनुसार पछिल्लो खण्डमा बस्नेछन्। महाधिवेशनमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पेस गर्नेछन्। त्यसपछि उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
यस्तै, महाधिवेशनमा कर्ण थापाको फरक मत पनि प्रस्तुत गरिने भएको छ।




प्रतिकृया