विनोदकुमार श्रेष्ठको हिजो बरामद गरेको ४ करोड २५ लाख रुपैयाँ र ९ किलो सुन, अब के गरिन्छ ?
प्रकाशित मिति
२०८२ भाद्र १८ गते, बुधबार ०२:२७
भदौ १८,२०८२ काठमाडौं – चार करोड २५ लाख रुपैयाँ र ९ किलोभन्दा बढी सुनसहित पक्राउ परेका गोरखाका ७७ वर्षीय विनोदकुमार श्रेष्ठलाई राजश्व अनुसन्धान विभाग, हरिहर भवन पठाइने भएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्व अधिकारीका अनुसार बरामद रकम र सुनसहितको मुद्दा प्रहरीले भन्दा पनि विभागले हेर्ने खालको भएकाले श्रेष्ठलाई विभागमा बुझाइने तयारी भएको हो।

मंगलबार गोंगबुस्थित श्रेष्ठको घरमा छापा मार्दा ठूलो मात्रामा नगद र सुनचाँदी बरामद गरिएको थियो। बैंकबाट मेसिन मगाएर गणना गर्दा ४ करोड २५ लाख रुपैयाँ भेटिएको थियो। त्यस्तै, ९ किलो ८३७ ग्राम सुनका गरगहना र ३ किलो २१८ ग्राम चाँदीका गहना पनि बरामद भएको प्रहरीले जनाएको छ।

घरधनी श्रेष्ठले सुन धितो राखेर मिटरब्याजमा रकम लगानी गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। ठूलो मात्रामा अवैध रकम लुकाएको भन्ने सूचनाका आधारमा छापा मार्दा उनी पक्राउ परेका हुन्।




प्रतिकृया