उखु किसानलाई ७५ करोडभन्दा बढी अनुदान निकासा, आन्दोलन पछि सरकारले चासो देखायो
प्रकाशित मिति
२०८२ भाद्र ११ गते, बुधबार १०:१६
भदौ ११,२०८२ काठमाडौं – सरकारले उखु किसानहरूलाई अनुदान तथा प्रोत्साहन स्वरूप ७५ करोड ४९ लाख ३८ हजार २४० रुपैयाँ निकासा गरेको छ। अर्थ मन्त्रालयले उक्त रकम निकासा गरी जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालयमार्फत किसानहरूको बैंक खातामा भुक्तानी गरिने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रिपरिषद्को निर्णय अनुसार यसपटक उखु किसानलाई प्रतिक्विन्टल ३५ रुपैयाँका दरले अनुदान दिने निर्णय भए पनि प्राविधिक कारण देखाउँदै अर्थ मन्त्रालयले निकासा प्रक्रिया केही ढिलो गरेको थियो। समयमै रकम नपाएको भन्दै किसानहरूले काठमाडौंमा आन्दोलन चर्काएका थिए।
यसअघि उखु किसानहरू प्रतिक्विन्टल ७० रुपैयाँको दरले प्रोत्साहन रकम पाउँदै आएका थिए। तर, मुलुकको आर्थिक अवस्था र प्राथमिकतालाई दृष्टिगत गर्दै यसपालि अनुदानको दर घटाएर ३५ रुपैयाँमा सीमित गरिएको हो।
यसैबीच, काठमाडौंमा आन्दोलनरत किसान प्रतिनिधिहरू र कृषि मन्त्रालयका अधिकारीबीच सिहंदरबारस्थित मन्त्रालयमा वार्ता भएको छ। वार्तामा कृषि विभागका उपमहानिर्देशक ललनकुमार सिंह, मन्त्रालयका उपसचिव लालकुमार श्रेष्ठ, मणिरत्न अर्याल, तथा उद्योग मन्त्रालयका प्रतिनिधिहरू सहभागी थिए। उखु किसानतर्फबाट श्यामबाबु राय लगायत किसान अगुवाहरू सहभागी भएका थिए।
वार्ता अघि कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले उपमहानिर्देशक सिंहको संयोजकत्वमा चार सदस्यीय वार्ता टोली गठन गरेका थिए।
सरकारले आन्दोलनरत किसानका मागप्रति ध्यान दिँदै निकासा प्रक्रिया अघि बढाएपछि किसानहरूले सकारात्मक प्रतिक्रिया जनाएका छन्। यद्यपि, पूर्ण सन्तुष्टि नहुँदासम्म संघर्ष जारी रहने किसानहरूको भनाइ छ।







प्रतिकृया