• १३ असोज २०८३, मंगलबार
  • ५ः३१ बिहान

ट्रम्पको घोषणा: छ लाख चिनियाँ विद्यार्थीलाई अमेरिका प्रवेश अनुमति दिइनेछ

प्रकाशित मिति

२०८२ भाद्र ११ गते, बुधबार १०:२६

भदौ ११,२०८२ काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँगको व्यापार सम्बन्ध सुधार गर्ने प्रयासस्वरूप छ लाख चिनियाँ विद्यार्थीहरूलाई अमेरिका प्रवेशको अनुमति दिने घोषणा गरेका छन्।

National Life

मंगलबार पत्रकार सम्मेलनमार्फत ट्रम्पले चीनसँग चलिरहेको भन्सार शुल्क वार्ताका बीचमा चिनियाँ विद्यार्थीको विषयलाई विशेष महत्व दिँदै भने, “हामी उनीहरूका विद्यार्थीलाई अनुमति नदिनेछौँ भन्ने धेरै अफवाहहरू छन्। तर होइन, हामी तिनीहरूलाई अमेरिका आउन दिनेछौँ। यो ठूलो कुरा हो – छ लाख विद्यार्थी।”

चीनसँगको आर्थिक सम्बन्ध बलियो हुँदै गएको दाबी गर्दै ट्रम्पले हालको सम्बन्ध अघिल्लो बाइडेन प्रशासनको तुलनामा निकै सबल भएको बताए। उनले राष्ट्रपति सी जिनपिङ्गसँगको सम्बन्ध सकारात्मक रहेको पनि जनाए।

Classic Tech Mobile
Classic Tech Desktop

ट्रम्प प्रशासनले यस वर्षको सुरुवातमा सर्व चिनियाँ वस्तुमा १४५ प्रतिशतसम्मको भन्सार कर लगाएको थियो। जवाफमा चीनले अमेरिकी निर्यातमा १२५ प्रतिशत कर लगाएको थियो।

यद्यपि, मे महिनामा जेनेभामा भएको वार्तामा अतिरिक्त करहरू स्थगन गर्ने सहमति भए पनि ट्रम्पले चिनियाँ म्याग्नेटमा २०० प्रतिशत भन्सार कर लगाउने घोषणा गर्दै चीनको बजार एकाधिकारलाई चुनौती दिएका छन्। “चीनले विश्व म्याग्नेट बजारमा बुद्धिमानीपूर्वक एकाधिकार जमाएको छ,” ट्रम्पले भने, “हामीलाई म्याग्नेट पाउन एक वर्ष लाग्न सक्छ।”

हाल अमेरिकामा करिब २ लाख ७० हजार चिनियाँ विद्यार्थी अध्ययनरत रहेको फक्स न्यूजले जनाएको छ। मे महिनामा अमेरिकी विदेशमन्त्री मार्को रुबियोले चिनियाँ कम्युनिस्ट पार्टीसँग सम्बन्धित वा संवेदनशील अनुसन्धानमा संलग्न चिनियाँ नागरिकहरूको भिसा रद्द गर्ने योजना सार्वजनिक गरे पनि, ट्रम्पले भने विद्यार्थीहरूलाई स्वागत गर्न आफू सधैं सकारात्मक रहेको बताएका छन्।

प्रतिकृया