गौरमा सुटकेसभित्र मृत भेटिएकी महिलाको सनाखत
प्रकाशित मिति
२०८२ भाद्र ८ गते, आईतवार ११:१०
भदौ ८,२०८२ काठमाडौं – रौतहटको गौर नगरपालिका–९ स्थित गौर–सिरसिया सडक खण्डमा सुटकेसभित्र मृत अवस्थामा भेटिएकी महिलाको सनाखत भएको छ। मृतकको पहिचान गौर नगरपालिका–२ मा बस्दै आएकी २६ वर्षीया रुवी शाह सुडीको रूपमा भएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी राजु कार्कीले जानकारी दिएका छन्।
मूल रूपमा माधवनारायण नगरपालिका–६ माइती भएकी रुवीको विवाह भारतमा भएको थियो। तर, उनी आफ्ना ४ वर्षीय छोरालाई पढाउन गौर–२ स्थित महादेवपट्टिमा डेरामा बस्दै आएकी थिइन्।
शनिबार राति गौर–सिरसिया सडक खण्डको मुठवलबा गेट नजिकै डोरीले बाँधिएको सुटकेश भेटिएपछि आइतबार बिहान प्रहरीले खोल्दा रुवीको शव फेला परेको थियो। शव घुँडा मोडेको, कोचिएको र कुइनिएको अवस्थामा सुटकेशभित्र राखिएको थियो।
डिएसपी कार्कीका अनुसार मृतकको नाकबाट रगत बगेको देखिए पनि शरीरमा अन्य कुनै स्पष्ट चोटपटकको चिन्ह देखिएको छैन। यद्यपि, मृत्युको कारण खुल्न बाँकी रहेकाले घटनाबारे गम्भीर रूपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतकका श्रीमान् भारतबाट नेपाल आइपुगेका छन् भने उनका परिवारजन प्रहरी सम्पर्कमा छन्।








प्रतिकृया