उत्कृष्ट नतिजा ल्याउने ६ स्थानीय तहलाई संघीय सरकारद्वारा सम्मान
प्रकाशित मिति
२०८२ भाद्र ४ गते, बुधबार ०९:४१
भदौ ४,२०८२ काठमाडौं – संघीय सरकारले उत्कृष्ट नतिजा ल्याएका छ वटा स्थानीय तहलाई सम्मान गर्ने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ ६ गते आर्थिक वर्ष २०८०/८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिसा) मा उत्कृष्ट नतिजा हासिल गरेका स्थानीय तह घोषणा गर्दै सम्मान गर्ने तयारी गरेको हो।
मन्त्रालयका अनुसार गाउँपालिका/नगरपालिकाको कार्य प्रक्रिया र उपलब्धीको लेखाजोखा गरी शासकीय सुधारका क्षेत्र पहिचान गर्ने, आवधिक समीक्षाको आधार तयार पार्ने र स्थानीय सरकारबीच स्वस्थ प्रतिस्पर्धी भावना जागृत गराउने उद्देश्यसहित स्वमूल्याङ्कन प्रणाली कार्यान्वयनमा ल्याइएको हो।
गुणस्तर परीक्षणपछि सार्वजनिक भएको अन्तिम नतिजाअनुसार खैरहनी नगरपालिका (चितवन), तिलोत्तमा नगरपालिका (रुपन्देही), नीलकण्ठ नगरपालिका (धादिङ), अर्जुनचौपारी गाउँपालिका (स्याङजा), बेनीघाट रोराङ गाउँपालिका (धादिङ) र रुरुक्षेत्र गाउँपालिका (गुल्मी) सम्मानित हुने भएका छन्।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेको उपस्थितिमा राष्ट्रियस्तरमा उच्चतम अंक प्राप्त गरेका यी स्थानीय तहलाई सम्मान गर्ने र सोही अवसरमा ‘स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन प्रणाली’ को शुभारम्भ समेत गर्ने कार्यक्रम तय भएको मन्त्रालयले जनाएको छ।








प्रतिकृया