प्रधानमन्त्री ओलीद्वारा नाडा अटो शो काठमाडौंमा उद्घाटन, पहिलो पटक फ्लाइङ कार सार्वजनिक(तस्बिरहरू)
प्रकाशित मिति
२०८२ भाद्र ३ गते, मंगलवार ०५:५३
भदौ ३,२०८२ काठमाडौं – अटो व्यवसायीहरूको प्रमुख मेला ‘नाडा अटो शो’ काठमाडौंको भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको छ। १७औँ संस्करणको यस अटो शो नाडा अटोमोबाइल्स एसोसिएशन अफ नाडाद्वारा आयोजित गरिएको हो। उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमै पहिलो पटक ल्याइएको उड्ने कार ‘फ्लाइङ ट्याक्सी’ सार्वजनिक गरे।
प्रधानमन्त्री ओलीले कार्यक्रममा नेपालमा लगानी र व्यवसायका लागि कुनै बाधा नरहेको बताए। उनले वैज्ञानिक अनुसन्धान, नवीन आविष्कार र प्रविधिको विकाससँगै नयाँ अवसरहरूलाई सहज उपयोग गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै, युवाहरूलाई नयाँ ढंगले काम गर्न सरकारले सबै खालको समर्थन दिने दाबी गरे।
उनी भन्छन्, “अग्रगमन र आधुनिकीकरणका लागि नीतिगत व्यवस्थाहरू र पूर्वाधार विकास गरेका छौँ। लगानी र काम गर्न कुनै बाधा छैन। प्रविधिको रुपान्तरण भैसकेको छ। यी सबैको ध्येय विकास र समृद्धि हो। यसमा तपाईंहरू ढुक्कले अगाडि बढ्नुस् र देशका लागि योगदान दिनुहोस्।”
कार्यक्रममा नाडाका अध्यक्ष करण चौधरीले अटो शो केवल प्रदर्शनी केन्द्र नभई व्यावसायिक थलो पनि भएको बताए। उनले पहिलो पटक नेपालमा ह्युमनाइड रोबोट र फ्लाइङ कार सार्वजनिक गरिएको उल्लेख गर्दै, यसले एअर मोबिलिटीसँग सम्बन्धित नीति निर्माणमा सहजता ल्याउने विश्वास व्यक्त गरे।
नाडा अटो शोबाट कुल बिक्रीको ४० प्रतिशत सवारी साधन बिक्री हुने गरेको तथ्य समेत अध्यक्ष चौधरीले बताए।











प्रतिकृया