• २० असोज २०८३, मंगलबार
  • ११ः५४ राती

सयौं नक्कली प्रमाणपत्रसहित भारतीय युवा रूपन्देहीमा पक्राउ

प्रकाशित मिति

२०८२ भाद्र ३ गते, मंगलवार ०९:२४

भदौ ३ ,२०८२ काठमाडौं—रूपन्देही प्रहरीले ठूलो परिमाणमा नक्कली शैक्षिक प्रमाणपत्रसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको कानपुर नौ वस्तीका २५ वर्षीय अभिषेक यादव रहेका छन्।

National Life

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीका अनुसार रूपन्देही र इलाका प्रहरी कार्यालय बेलहियाको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा आइतबार साँझ यादवलाई सिद्धार्थनगर नगरपालिका–१ स्थित बेलहिया बसपार्कमा रहेको होटेल मुक्तिनाथ परिसरबाट नियन्त्रणमा लिएको हो।

उनको शरीर र सुटकेस खानतलासी गर्दा त्रिभुवन विश्वविद्यालयका १ सय ट्रान्सक्रिप्ट, ३६ वटा खाली प्रमाणपत्र, विभिन्न शैक्षिक संस्थाका ३ वटा नक्कली र ५ वटा स्ट्याम्प प्याड, त्रिभुवन विश्वविद्यालयका ४ हजार ४० थान रहेको २१ बन्डल होलो ग्राम, उच्च माध्यमिक शिक्षा परिषद्को २ हजार थान रहेको १९ प्याकेट, राष्ट्रिय परीक्षा बोर्डका १ हजार ७ सय थान रहेको १७ प्याकेट नक्कली होलो ग्राम र स्टिकरहरू बरामद भएको प्रहरीले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यसैगरी भारतको एमीटी विश्वविद्यालयका ८० वटा नक्कली मार्कसिट, ४० वटा प्रोभिजनल सर्टिफिकेट, ६० वटा क्यारेक्टर सर्टिफिकेट, ४९ वटा अन्य खाली प्रमाणपत्र र ४० वटा खाली लोगोसमेत फेला परेको छ। यस्तै जवाहरलाल नेहरू टेक्निकल युनिभर्सिटी हैदराबाद, छत्रपति साहूजी महाराज युनिभर्सिटी कानपुर, असम उच्च माध्यमिक शिक्षा परिषद्, कुरुक्षेत्र विश्वविद्यालय, आन्ध्र विश्वविद्यालयलगायतका नाममा नक्कली स्ट्याम्प र छापहरू बरामद गरिएको प्रहरीले जनाएको छ।

यावजस्तै चार वटा पेन ड्राइभ, एक थान एचपी ल्यापटप, एक आईफोन, एक रियलमी मोबाइल, तीन एटिएम कार्ड, भारतीय रुपैयाँ १८ हजार ५ सय र नेपाली रुपैयाँ ३ हजार २५ नगद पनि बरामद भएको छ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीका अनुसार प्रारम्भिक अनुसन्धानमा पक्राउ परेका यादव कुनै गिरोहका लागि काम गर्ने कामदार मात्र भएको देखिएको छ। उनले प्रायजसो विदेश अध्ययन र कामको प्रयोजनका लागि नक्कली प्रमाणपत्र बनाउने गरिएको प्रारम्भिक अनुसन्धानमा खुलेको जानकारी दिए।

यो घटनाले शैक्षिक प्रमाणपत्रको अवैध कारोबार देशकै शिक्षा क्षेत्रका लागि गम्भीर चुनौती बनेको स्पष्ट पारेको प्रहरीले जनाएको छ।

प्रतिकृया