गुन्डा नाइके चक्रे मिलन १ लाख १० हजार धरौटीमा रिहा
प्रकाशित मिति
२०८२ श्रावण ३० गते, शुक्रबार ०३:१५
श्रावण ३०,२०८२ काठमाडौं—गुन्डा नाइकेको रूपमा चिनिने मिलन गुरुङ (चक्रे मिलन) लाई जिल्ला अदालत भक्तपुरले १ लाख १० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ। जिल्ला अदालत भक्तपुरका न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासले शुक्रबार बयान र थुनछेक सकाएर यस्तो आदेश जारी गरेको हो।
जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डिराज नेउपानेका अनुसार चक्रेले तोकिएको धरौटी बुझाइसकेका छन् र रिहा हुने प्रक्रियामा छन्। चक्रेविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा दर्ता भएको थियो।
यो मुद्दा १० भदौ २०८१ मा सानोठिमीस्थित एक रेस्टुरेन्टमा चक्रेको भतिज मनिष रायमाझीमाथि खुकुरी प्रहार भएको घटनासँग सम्बन्धित हो। घटनामा अजित खवाससहितका व्यक्तिहरूको संलग्नता देखिएको र जाहेरीमा चक्रेको नाम पनि उल्लेख भएको थियो।
चक्रे बुधबार मात्रै अभद्र व्यवहारको मुद्दामा ३० हजार धरौटी बुझाएर रिहा भएका थिए। तर भक्तपुरमा अर्को मुद्दा रहेकाले उनलाई पुनः प्रहरीको जिम्मा लगाइएको थियो।
१५ साउनमा उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौं प्रहरी परिसरको संयुक्त अपरेशनमा चक्रेसहित ४७ जना पक्राउ परेका थिए। मध्यराति महाराजगञ्जस्थित होटल साम्बालामा जन्मदिनको पार्टीका क्रममा होहल्ला भएको भन्दै उनीहरूलाई पक्राउ गरिएको थियो।








प्रतिकृया