एमसीसी अन्तर्गत दुई खण्डको प्रसारण लाइन निर्माण सम्झौता हुँदै
प्रकाशित मिति
२०८२ श्रावण २९ गते, बिहीबार ०९:३८
श्रावण २९,२०८२ काठमाडौं —अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसीए नेपाल) मातहत निर्माण हुने ४०० केभी डबल सर्किट प्रसारण लाइनका दुई खण्ड निर्माणका लागि बोलपत्र स्वीकृत भएको छ। सम्झौता बिहीबार ठेकेदार कम्पनीसँग हुने एमसीए नेपालले जनाएको छ।
सम्झौतामा पर्नेतर्फका खण्डहरू न्यु दमौली–न्यु बुटवल र रातामाटे–न्यु दमौली प्रसारण लाइन हुन्। यसअघि परियोजना अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापश्चिम) मा निर्माणाधीन नयाँ बुटवल सबस्टेसनदेखि नेपाल–भारत सीमासम्म १८ किलोमिटर प्रसारण लाइन बनाउन भारतीय कम्पनी ट्रान्सरेल लाइटिङ लिमिटेडसँग सम्झौता भइसकेको छ।
नवीन सम्झौताअनुसार, ९० किलोमिटर लामो रातामाटे–न्यु दमौली लाइन निर्माणका लागि भारतको एनजेलिक–स्किपर संयुक्त उपक्रम (जेभी)ले २४८ वटा टावरसहितको लाइन ७ करोड ७४ लाख ८० हजार अमेरिकी डलरमा बनाउन पाएको छ।
त्यस्तै, न्यु दमौली–न्यु बुटवल ९० किलोमिटर लाइनको निर्माण वाइबा–सलार जेभीले २४९ वटा टावरसहित ७ करोड ७० लाख ३ हजार अमेरिकी डलरमा पाएको छ।
प्रसारण लाइनका पाँच खण्डमध्ये हालसम्म तीन खण्डको ठेक्का सम्झौता भइसकेको छ। दुवै नयाँ ठेक्काको निर्माण अवधि ३६ महिना रहनेछ। बाँकी दुई खण्डको ठेक्का सम्झौता अझै हुन बाँकी छ।








प्रतिकृया