राष्ट्रिय वाणिज्य बैंकको नाफामा ४९.५३ प्रतिशत वृद्धि
प्रकाशित मिति
२०८२ श्रावण २९ गते, बिहीबार १०:०४
श्रावण २९,२०८२ काठमाडौँ — राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले गत आर्थिक वर्षमा ३ अर्ब ८१ करोड रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्षको २ अर्ब ५५ करोड रुपैयाँको तुलनामा यो ४९.५३ प्रतिशतले बढी हो।
गत वर्ष बैंकको खुद ब्याज आम्दानी १० अर्ब ८ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको १० अर्ब ३ करोड रुपैयाँभन्दा बढी हो। कुल आम्दानी पनि ११ अर्ब ५४ करोड रुपैयाँबाट बढेर १२ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ।

आम्दानी वृद्धि संगै सञ्चालन नाफा अघिल्लो वर्षको ४ अर्ब ९ करोड रुपैयाँबाट ३१.५९ प्रतिशत बढेर ५ अर्ब ३८ करोड रुपैयाँ भएको छ। वितरणयोग्य नाफा अघिल्लो वर्षको १ अर्ब २२ करोड रुपैयाँ ऋणात्मक अवस्थाबाट गत वर्ष ३० करोड ३४ लाख रुपैयाँ धनात्मकमा पुगेको छ।

बैंकको प्रतिशेयर आम्दानी १६.३२ रुपैयाँबाट बढेर २४.४१ रुपैयाँ पुगेको छ। खराब कर्जा दर ४.२८ प्रतिशतबाट घटेर ३.५९ प्रतिशतमा आएको छ। १५ अर्ब ६३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको रिजर्भमा ३७ अर्ब ४७ करोड रुपैयाँ छ। बैंकले २ खर्ब ९४ अर्ब १८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ भने ५ खर्ब ४१ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।




प्रतिकृया