भदौमा हुने एमालेको विधान महाधिवेशनका लागि नेताहरूलाई जिम्मेवारी तोकियो
प्रकाशित मिति
२०८२ श्रावण १५ गते, बिहीबार १०:४३
श्रावण १५, २०८२ काठमाडौं । सत्तारुढ नेकपा एमालेले आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने विधान महाधिवेशनको व्यवस्थापनका लागि विभिन्न नेताहरूलाई जिम्मेवारी तोकेको छ। बुधबार बसेको पार्टी केन्द्रीय सचिवालयको बैठकले महाधिवेशनलाई व्यवस्थित र सफल बनाउन जिम्मेवारी तोकेको हो।
महासचिव शंकर पोखरेलको अध्यक्षतामा बसेको बैठकले महाधिवेशनका प्रतिनिधिको यकिन संख्याका लागि संगठन विभागलाई जिम्मा दिएको छ। केन्द्रीय कार्यालय प्रमुख डा. भिष्म अधिकारीका अनुसार १०औं राष्ट्रिय महाधिवेशनका प्रतिनिधिमध्ये कति जनाको निधन भयो, कति जनाले पार्टी त्यागे भन्ने विवरण संकलन गर्ने काम सो विभागलाई दिइएको हो।
महाधिवेशन व्यवस्थापन अन्तर्गत स्वास्थ्य व्यवस्थापनको जिम्मा कृष्णगोपाल श्रेष्ठलाई, स्वयंसेवक परिचालनको जिम्मा भानुभक्त ढकाललाई, सचिवालय तथा खाना व्यवस्थापनको जिम्मा डा. भिष्म अधिकारीलाई, यातायात तथा मञ्च व्यवस्थापनको जिम्मा विनोद श्रेष्ठलाई, प्रचार तथा प्रकाशनको जिम्मा राजेन्द्र गौतमलाई, सांस्कृतिक कार्यक्रम तथा स्वागत नृत्यको जिम्मा हेमराज राईलाई दिइएको छ।
महाधिवेशनमा सहभागी हुने अनुमानित २ हजार २७९ जना प्रतिनिधिका लागि आवासको व्यवस्थापन प्रतिनिधि स्वयंले गर्नुपर्ने पार्टीले जनाएको छ। तर व्यवस्थापन गर्न नसक्ने प्रतिनिधिका लागि सम्बन्धित जिल्ला वा प्रदेश सम्पर्क समन्वय समितिले व्यवस्था गर्नेछ, जसको जिम्मेवारी लालबाबु पण्डितलाई दिइएको छ।








प्रतिकृया