• २१ असोज २०८३, बुधबार
  • ४ः५४ बिहान

एक वर्षमै अर्थतन्त्र ४ खर्बले वृद्धि, राजस्व र पुँजीगत खर्चमा समेत उल्लेखनीय सुधार

प्रकाशित मिति

२०८२ असार २६ गते, बिहीबार ०२:४९

असार  २६, २०८२ काठमाडौं । मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) एक वर्षको अवधिमा ४ खर्ब रुपैयाँले वृद्धि भएको छ। अर्थ मन्त्रालयले बिहीवार सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७९/८० मा मुलुकको अर्थतन्त्र ५७ खर्ब रुपैयाँ बराबर थियो भने चालु आर्थिक वर्ष २०८०/८१ मा ६१ खर्ब रुपैयाँ पुगेको छ।

National Life

मन्त्रालयका अनुसार सोही अवधिमा राजस्व संकलन १ खर्ब ८ अर्बले बढेको छ भने पुँजीगत खर्च पनि गत वर्षको तुलनामा ३६ अर्बले वृद्धि भएको छ। एक वर्षको अवधिमा निजी क्षेत्रमा प्रवाहित कर्जा ८.७ प्रतिशतले वृद्धि भएको देखिन्छ। गत वर्ष यो वृद्धिदर ५.६ प्रतिशत मात्रै रहेको थियो। यसैबीच, रेमिट्यान्स आप्रवाह पनि १५.५ प्रतिशतले बढेको छ।

निर्याततर्फ समेत उल्लेखनीय सुधार देखिएको छ। मन्त्रालयका अनुसार निर्यात गत वर्षको तुलनामा ७७.८ प्रतिशतले बढेको छ भने आयातमा १३.१ प्रतिशतको वृद्धि भएको छ। राष्ट्रिय तथ्यांक कार्यालयको सर्वेक्षणका आधारमा अर्थतन्त्रका १८ वटा प्रमुख क्षेत्रका सूचक सकारात्मक रहेको उल्लेख गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

अर्थ मन्त्रालयका अनुसार, हाल देशभित्र लगानीमैत्री वातावरण निर्माण भैरहेको छ। पछिल्लो एक वर्षमा थुप्रै नीतिगत तथा कानुनी सुधार भएका छन्। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) ऐन, आर्थिक तथा व्यवसायिक वातावरण सुधार तथा लगानी अभिवृद्धिसम्बन्धी ऐन, निजीकरण (पहिलो संशोधन) ऐन, भन्सार महसुल ऐन र बैंकिङ कसुर तथा सजाय ऐन लगायतका कानुनमा संशोधन तथा विधेयक अगाडि सारिएको मन्त्रालयको भनाइ छ।

त्यस्तै, वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रतिनिधिसभामा पेश हुनु, उच्चस्तरीय आर्थिक सुझाव तथा सुधार आयोग गठन र कार्यान्वयन थालिनु, निजी क्षेत्रको गुनासा तथा मागको सुनुवाइ, निर्माण क्षेत्रका समस्याको सम्बोधन, अघिल्लो वर्षको ३० अर्बभन्दा बढी दायित्वको भुक्तानी जस्ता कार्यहरूलाई मन्त्रालयले महत्वपूर्ण उपलब्धि मानेको छ।

यद्यपि, अर्थ मन्त्रालयले लक्ष्यअनुसारको राजस्व संकलन, पुँजीगत खर्चमा थप वृद्धि र ग्रे लिस्टबाट बाहिरिनु अर्थतन्त्रका प्रमुख चुनौती रहेको समेत उल्लेख गरेको छ।

प्रतिकृया