पूर्व राष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता, यस्तो भयो छलफल
प्रकाशित मिति
२०८२ असार २२ गते, आईतवार ०५:४५
असार २२ , २०८२ काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ। मेयर शाहले पूर्व राष्ट्रपति भण्डारीलाई भेट्न उनकाे निवास भंगालमा पुगेका थिए।
स्रोतका अनुसार भेटवार्ता गएको बिहीबार भएको हो। मेयर शाहको सचिवालयले पनि उक्त भेटवार्ताको पुष्टि गरेको छ। ‘बिहीबार पूर्व राष्ट्रपतिको निवासमा उहाँहरूबीच भेटवार्ता भएको हो,’ सचिवालय स्रोतले जानकारी दियो। भेटका क्रममा नेकपा (एमाले) का नेता शेरधन राई, काठमाडौं–९ का सांसद कृष्णगोपाल श्रेष्ठलगायत नेताहरू पनि उपस्थित थिए।
स्रोतअनुसार राष्ट्रपति भण्डारी कार्यकालमा सञ्चालित ‘राष्ट्रपति चुरे–तराई संरक्षण कार्यक्रम’ अन्तर्गत चुरे क्षेत्रमा वन्यजन्तुका लागि अण्डरपास निर्माण योजनामा बालेन शाह संलग्न रहेका थिए। पुरानो परिचय र सम्वन्धका आधारमा यो भेटवार्तालाई निरन्तरता दिइएको सचिवालय स्रोतले जनायो। ‘उहाँहरूबीच समसामयिक राजनीतिक र सामाजिक विषयमा कुराकानी भयो,’ स्रोतले भन्यो। प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मेयर बालेनको तिक्तता बढिरहेका बेला एमालेको सक्रिय राजनीतिमा फर्किने घोषणा गरिसकेकी पूर्व राष्ट्रपति भण्डारीसँग भएको यो भेट अर्थपूर्ण ठानिएको छ।








प्रतिकृया