गणतन्त्रको शत्रु ढिलासुस्ती, अनियमितता र बेथिति: राष्ट्रपति पौडेल
प्रकाशित मिति
२०८२ जेष्ठ १५ गते, बिहीबार ०७:५३
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्रको सबैभन्दा ठूलो शत्रु ढिलासुस्ती, अनियमितता र बेथिति भएको स्पष्ट पारेका छन् ।। गणतन्त्र दिवसको अवसरमा राष्ट्रबासीलाई शुभकामना दिँदै राष्ट्रपति पौडेलले गणतन्त्रलाई जनजीवनसँग जोड्न राजनीतिक उपलब्धि मात्र पर्याप्त नहुने बताउँदै शासकीय चरित्र, राजनीति र नेताको सोचमा आमूल परिवर्तन आवश्यक रहेको उल्लेख गरेका छन्।
राष्ट्रपतिद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, हाम्रो शासकीय चरित्रलाई बदल्नुपर्ने हुन्छ। गणतन्त्रको उत्कृष्टताको सार्थकता प्राप्त गर्न हाम्रो राजनीति, हाम्रो शासकीय शैली, राजनीतिक दल र जनप्रतिनिधिमूलक संस्थाहरूलाई पूर्ण लोकतान्त्रिक, निष्पक्ष, प्रतिस्पर्धात्मक, न्यायपूर्ण र प्रभावकारी बनाउन ढिलो गर्न हुँदैन।
राष्ट्रपति पौडेलले लोकतान्त्रिक गणतन्त्रलाई केवल राजनीतिक व्यवस्था नभई आचरणमा आधारित जीवनशैलीको रूपमा प्रस्तुत गर्दै यसका नैतिक दायरा र मूल्यहरूलाई कायम राख्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ। उहाँका अनुसार, नागरिकलाई निराश बन्ने अवस्था आउन नदिन उपलब्ध स्रोतको अधिकतम उपयोग गर्दै जीवनस्तर उकास्ने कार्यमा तदारुकता देखिनु आवश्यक छ।
सन्देशमा उनले गणतन्त्रलाई संघीयता, समावेशिता, सामाजिक न्याय र लोकतान्त्रिक मूल्यसहितको समाजवादले सिँचिएको सर्वोत्कृष्ट प्रणालीका रूपमा चित्रित गर्दै भनेका छन्, यस व्यवस्थाले सम्पूर्ण राजनीतिक अधिकार सुनिश्चित गरेको छ र देशवासीलाई एक साझा राष्ट्रको भावनामा जोडेको छ।
राष्ट्रपति पौडेलले जाति, भाषा, धर्म, सभ्यता र भूमिको स्वामित्व जनतामै रहेको कुरा स्मरण गराउँदै सबै नागरिकलाई समेट्ने साझा राष्ट्र निर्माणतर्फ सबैले प्रतिबद्ध भएर लाग्नुपर्नेमा जोड दिए।








प्रतिकृया