पूर्वपतिबाट पूर्वपत्नी र दुई छोरीको विभत्स हत्या
प्रकाशित मिति
२०८२ जेष्ठ १४ गते, बुधबार १०:१४
बुटवल । बुटवल उपमहानगरपालिका–११, होराइजन चोकस्थित मिलीजुली पथमा बुधबार बिहान एकै परिवारका तीनजनाको विभत्स हत्या भएको छ।
रूपन्देहीका प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीका अनुसार हत्या दिवंगत महिलाका पूर्वपति सुजन कोइरालाले गरेका हुन्। हत्या भएका व्यक्तिमा ३५ वर्षीया दीपा बस्याल र उनका दुई छोरीहरू — १३ वर्षीया स्नेहा कोइराला र ११ वर्षीया हिमानी कोइराला रहेका छन्।

प्रहरीका अनुसार कोइरालाले चक्कु र हतौडाको प्रयोग गरी पूर्वपत्नी र दुई छोरीको हत्या गरेका हुन्। केही वर्षअघि दीपा र सुजनबीच सम्बन्धविच्छेद भएको थियो। त्यसपछि दीपाले नवलपरासीका अर्का व्यक्तिसँग पुनः विवाह गरेकी थिइन्।

घटनाका विषयमा जानकारी दिँदै एसपी क्षेत्रीले भने, “दीपा आफ्ना दुई छोरीहरू लिएर मंगलबार साँझ सुजनको घर गएकी थिइन्। उनीहरूलाई सुजनले नै बोलाएका थिए।” उनले थपे, “हिजो राति नै हत्या भएको अनुमान गरिएको छ। घटनास्थल सुरक्षित गरी आवश्यक अनुसन्धान थालिएको छ।”
प्रहरीका अनुसार सुजन कोइराला यसअघि पनि आपराधिक घटनामा संलग्न भइसकेका थिए। उनले आफ्नै दाजुलाई हत्या गरी जेल सजाय भोगेका थिए र संविधान दिवसको अवसरमा आममाफी पाएका थिए।
हत्या भएकी दीपा पाल्पाको तानसेन नगरपालिका–७ स्थित कुनसरे आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मी थिइन्।
हाल सुजनलाई नियन्त्रणमा लिइएको छ र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




प्रतिकृया