• २२ भदौ २०८३, सोमबार
  • ४ः०२ बेलुका

इजरायल–लेबनान सीमामा एक नेपाली शान्ति सैनिक घाइते

प्रकाशित मिति

२०८० कार्तिक १२ गते, आईतवार ११:२५

कात्तिक १२, २०८० काठमाडौँ: लेबनानमा खटिएका एक नेपाली शान्ति सैनिक घाइते भएका छन् । इजरायल प्रतिरक्षा फौज (आईडीएफ) र लेबनानको लडाकु समूह हिजबुल्लाहबीचको द्वन्द्वका क्रममा नेपाली शान्ति सैनिक सामान्य घाइते भएका नेपाली सेनाले जनाएको छ ।

National Life

इजरायल–लेबनान सीमाक्षेत्रमा दुई पक्षबीचको आक्रमणका क्रममा एक नेपाली शान्ति सैनिकलाई सामान्य चोट लागेको नेपाली सेनाका सूचना अधिकारी कृष्णप्रसाद भण्डारीले जानकारी दिए । यही अक्टोबर २८ तारिख राति १० बजेर २० मिनेट (स्थानीय समय)मा उक्त घटना भएको उनले बताए । दुई पक्षबीचको आक्रमणका क्रममा प्रहार गरिएको सम्भावित ‘मोर्टार सेल’को ‘चोइटा’ले सामान्य चोट लागेको उनको भनाइ छ ।

उनका अनुसार लेबनानस्थित संयुक्त राष्ट्रसंघीय शान्ति सैनिकको गणमा मोर्टार सेलको ‘चोइटा’ खसेको थियो । सबै शान्ति सैनिक बंकरभित्र बसेका थिए । “अक्टोबर २८ को राति १० बजेर २० मिनेट (स्थानीय समय)मा सम्भावित मोर्टार सेल’को चोइटा खस्दा एकजना नेपाली शान्ति सैनिकलाई सामान्य चोट लागेको छ,” सूचना अधिकारी भण्डारीले बाह्रखरीसित भने, “शान्ति सैनिक बंकरभित्र थिए । अरू त्यस्तो ठूलो घटना भएको छैन ।”

Classic Tech Desktop

ती शान्ति सैनिकको परिचय खुलाइएको छैन । शान्ति सैनिककै गणको अस्पतालमा उपचार गर्दा उनको अवस्था खतरामुक्त रहेको नेपाली सेनालाई जानकारी प्राप्त भएको सहायक रथी भण्डारीले बताए । चोट लागेका शान्ति सैनिक त्यहीँको अस्पतालमा उपचाररत रहेको उनले जानकारी दिए ।

उनका अनुसार त्यसक्रममा शान्ति सैनिकका एउटा बंकर र एउटा गाडीमा सामान्य क्षति पुगेको छ । त्यसबाहेक शान्ति सैनिक र गणमा कसैलाई केही नभएको उनले बताए । “अरू कसैलाई केही भएको छैन । सबै सुरक्षित र सकुशल हुनुहुन्छ,” उनले भने, “थप विवरण प्राप्त भएपछि जानकारी गराउँछौँ ।”

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले एक नेपाली शान्ति सैनिकको पेट र हातमा सामान्य चोट लागेको जनाएका छन् ।

प्रतिकृया