• ११ असोज २०८३, आइतबार
  • २ः५१ दिउँसो

वैशाख १० मा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न आयोगको आह्वान (सूचनासहित)

प्रकाशित मिति

२०७९ चैत्र ७ गते, मंगलवार ०५:१९

७ चैत्र २०७९, काठमाडौँ: निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि दल दर्ताको लागि आह्वान गरेको छ । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि रिक्त भएको प्रतिनिधि सभा सदस्यका ३ छुट्टा-छुट्टै निर्वाचन क्षेत्रमा आगामी वैशाख १० गते उपनिर्वाचन हुने जनाउँदै आयोगले यसको लागि दल दर्ता गर्न आह्वान गरेको हो ।

National Life

आयोगले आज मंगलबार एक सूचना जारी गर्दै तनहुँ क्षेत्र नम्बर १, बारा क्षेत्र नम्बर २ र चितवन क्षेत्र नम्बर- २ मा वैशाख १० गते उपनिर्वाचन हुने आयोगले जनाएको छ। निर्वाचन प्रयोजनका लागि चैत ८ गतेदेखि १२ गतेसम्म दल दर्ताको मिति तोकिएको आयोगले जनाएको छ।


‘राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम मिति २०७९/१२/५ गतेसम्म दर्ता कायम रहेका राजनीतिक दलहरूलाई नेपालको संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम संवत् २०७९ साल चैत ८ गते देखि २०७९ साल चैत १२ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को अनुसूची- १२ बमोजिमको ढाँचामा निर्वाचन आयोग, कान्तिपथ, काठमाडौंस्थित कार्यालयमा दल दर्ताका लागि निवेदन दिन सूचित गरिएको छ,’ आयोगले मंगलबार एक सूचना जारी गर्दै भनेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

तनहुँ १ बाट प्रतिनिधसभामा निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति र बारा २ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि यी दुई क्षेत्र सांसदविहीन भएका छन् । यस्तै, चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नागरिकता विवादको मुद्दामा दोषी ठहर भइ प्रतिनिधि सभा सदस्यबाट पदमुक्त भएपछि चितवन २ मा रिक्त रहेको थियो। आयोगले सो क्षेत्रमा पनि वैशाख १० गते नै उपनिर्वाचन गर्नेगरी यसअघि नै कार्यतालिका तय गरेको थियो।


सङ्घीय संसद्ले सोमबार आयोगलाई पत्राचार गरी दुवै निर्वाचन क्षेत्र रिक्त भएको जानकारी गराएपछि आयोगले उपनिर्वाचन गर्ने निर्णय गर्दै निर्वाचन कार्यक्रम प्रकाशित गरेको हो । निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले तीनै क्षेत्रको उपनिर्वाचनका लागि यही चैत २० गते उम्मेदवार मनोनयन हुने तालिकासहितको निर्वाचन कार्यक्रम प्रकाशित गरिएको जानकारी दिएका छन्।


निर्वाचन आयोगको कार्यक्रमअनुसार चैत २० गते मनोनयन दर्ता गराएका उम्मेदवारले चैत २३ गते नाम फिर्ता लिने र सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गरिनेछ। चितवन २, तनहुँ १ र बारा २ मा आगामी वैशाख १० गते बिहान ७ देखि बेलुकी ५ बजेसम्म मतदान हुनेछ।

प्रतिकृया