आजदेखि चिकित्सक संघको निर्वाचन सुरु
प्रकाशित मिति
२०७९ माघ १९ गते, बिहीबार ०३:२०
१९ माघ २०७९, काठमाडौँ: नेपाल चिकित्सक संघको निर्वाचनअन्तर्गत आजबाट काठमाडौं उपत्यकामा निर्वाचन सुरु भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठान मतदान केन्द्रमा भएको निर्वाचनमा उपत्यकामा रहेका संघका सदस्य चिकित्सकहरूले मतदान गरिरहेका छन्। यो निर्वाचन संघको २९ औँ केन्द्रीय कार्यकारिणी समिति (२०७९-२०८२ कार्यकाल)का लागि भएको हो।
२९ औं केन्द्रीय कार्यकारिणी समितिका लागि माघ ६ गते शुक्रबार र ७ गते शनिबार संघका १६ वटा शाखा कार्यालयमा निर्वाचन कार्यक्रम सम्पन्न भइसकेको छ भने उपत्यकामा बिहीवार, शुक्रवार र शनिवार निर्वाचन हुँदै छ। प्रमुख निर्वाचन अधिकृत डा. धनबहादुर राना मगरले दिएको जानकारीअनुसार उपत्यका बाहिर ३ हजार ६५० मत खसेको छ। संघको निर्वाचनमा कुल १२ हजार ८३४ जना मतदाता रहेका छन् ।

निर्वाचनमा डा अनिलविक्रम कार्कीको नेतृत्वमा लोकतान्त्रिक समूह, डा. सन्तोष पौडेलको अध्यक्षतामा पेशागत समावेशी समूह र डा. शिवजी सिलवालको नेतृत्वमा स्वतन्त्र समूह गरी तीनवटा प्यानल चुनावमा होमिएको छ। यस्तै लोकतान्त्रिक समूहबाट डा. सञ्जीव तिवारी र पेशागत समावेशी समूहबाट डा. रक्षा श्रेष्ठले महासचिवमा उम्मेदवारी दिएका छन्।

एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, सात उपाध्यक्ष (प्रदेश संयोजक) एक महासचिव, एक सहसचिव, एक कोषाध्यक्ष, एक सहकोषाध्यक्षसहित १९ पदमध्ये एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष, एक कोषाध्यक्ष, एक सहसचिव, एक सहकोषाध्क्षसहित ७ जना निर्विरोध निर्वाचित भइसकेका छन् भने अध्यक्षसहित १२ पदका लागि निर्वाचन हुँदै छ।




प्रतिकृया