• ४ साउन २०८३, सोमबार
  • १:३८ बिहान

विश्व पर्यटन दिवस : वृहत सांस्कृतिक मेला ललित कार्निभलको आयोजना

प्रकाशित मिति

२०७९ आश्विन १२ गते, बुधबार ०९:२५

१२ असोज २०७९, काठमाडौँ : विश्व पर्यटन दिवसको अवसरमा ललितपुरमा वृहत सांस्कृतिक मेला ललित कार्निभलको आयोजना गरिएको छ। ५०० भन्दा धेरै कलाकारको प्रस्तुतिसहित ललितपुर महानगरपालिकाको आयोजना तथा ललितपुरका विभिन्न संघसंस्थाको सह(आयोजनामा बृहत सांस्कृतिक मेला हिजो मंगलबार पाटन दरबार क्षेत्र मंगलबजारमा भएको हो ।


सांस्कृतिक मेलामा विभिन्न ७ विद्यालयका १०० जना भन्दा धेरै कलाकारहरूले कार्तिक डबली परिसरको मन्दिर तथा खुला क्षेत्र ढाकिने गरे ७ प्रदेशको मौलिक नाच प्रदर्शन गरेका थिए। त्यस्तै ज्यापु समाज यल, बौद्ध विहार संघ, नेपाल राष्ट्रिय खड्गी समाज ललितपुरका सयौँ कलाकारले नायःखिं, धिमे, धाः लगायतको परम्परागत बाजा तथा नाचको प्रस्तुति दिइएको थियो ।

Kamana Sewa

ललित कार्निभल लक्षित कार्यक्रमका लागि विद्यार्थी एवम् कलाकारहरूलाई ३ महिना अघि देखि नै प्रशिक्षण दिइरहेको छ । त्यस्तै बेलुकीको सांस्कृतिक कार्यक्रम अघि पाटन म्युजियम परिसरमा रहेको मणि केशव नारायण चोकमा योमरी बनाउने, चिउरा कुट्ने, सुकुल बुन्ने, प्याङ्गगाँउको लोपेन्मुख काठको चिउरा राख्ने भाँडो बनाउने पद्धति लगायतको परम्परागत नेवार जीवनपद्धतिको प्रत्यक्ष प्रस्तुति पनि गरिएको थियो । त्यसैगरी बिहान पर्यटकहरूको स्वागत कार्यक्रमको आयोजना गरिएको थियो।

Classic Tech Desktop

त्यस्तै सांस्कृतिक मेलामा ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले महानगरपालिकाको पयर्टनसँग सम्बन्धित वेबसाइटको लोकार्पण गरेका थिए । कार्यक्रममा उपप्रमुख मञ्जली शाक्य बज्राचार्य, नेपालस्थित विभिन्न देशका राजदूतहरू, जनप्रतिनिधिहरूको उपस्थिति थियो। हरेक वर्ष सेप्टेम्बर २७ मा पर्यटन दिवस मनाउने गरिन्छ ।


विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीबाट पर्यटन क्षेत्र प्रभावित भएको र अहिले पुनरुत्थानको चरणमा रहेको अवस्थामा दिवसलाई नयाँ अवसरको पहिचान र उपयोगमा जोड दिएर मनाएको हो । नेपालले सन् २०२३ देखि २०३२ सम्म नेपाल भ्रमण दशक मनाउने निर्णयसमेत गरेको छ ।

प्रतिकृया