• १३ असोज २०८३, मंगलबार
  • २ः३२ दिउँसो

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहको प्रमुख आतिथ्यमा २-१७७औं समूहको प्रहरी सहायक निरीक्षक आधारभूत तालिम समापन

प्रकाशित मिति

२०७९ आश्विन १० गते, सोमबार ०२:२६

१० असोज २०७९, काठमाडौंः प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहको प्रमुख आतिथ्यमा नेपाल प्रहरी शिक्षालय भरतपुरमा आइतबार आयोजित एक कार्यक्रमबीच सोही शिक्षालयमा संचालित २-१७७औं समूहको प्रहरी सहायक निरीक्षक आधारभूत तालिम  सम्पन्न भएको छ । कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले तालिममा सहभागी उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार, प्रमाणपत्र तथा उत्कृष्ट प्रशिक्षकहरुलाई नगद पुरस्कार वितरण गर्नुभयो ।

National Life

सो अवसरमा प्रहरी महानिरीक्षक सिंहले नेपाल प्रहरीले कठिन र चुनौतीपूर्ण घडीमा राष्ट्रले सुम्पिएको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्दै आएको बताउनुभयो । जिम्मेवारी निर्वाहका क्रममा विषम् परिस्थितिमा पनि धैर्यवान रही नेपाल प्रहरीले आफूलाई उत्कृष्ट सावित गर्दै आएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “गौरवमय इतिहास बोकेको संगठनका सदस्य
हुनु पाउनु आफैंमा सम्मानको विषय हो । तसर्थ नव-प्रवेशी प्रहरी अधिकृतहरूलाई प्रहरी सेवालाई केवल पेशाको रुपमा मात्र नलिई राष्ट्र र नागरिक सेवामा आफ्नो विशिष्ट पहिचान बनाउन निर्देशन गर्दछु ।”


प्रहरी महानिरीक्षक सिंहले हिंसाजन्य एवम् अमानवीय व्यवहारलाई समाजमा कुनै स्थान दिन नहुने र कुरीतिजन्य आचरण तथा व्यवहारले समाजको सुन्दरतालाई कुरूप पार्ने उल्लेख गर्दै आम नागरिकलाई न्याय र आत्मसम्मानको अनुभूति गराई नेपाल प्रहरी नागरिक आस्था र भरोसाको केन्द्रको रुपमा स्थापित हुने गरी काम गर्ने समेत आग्रह गर्नुभयो । कुनै पनि प्रकारका अवाञ्छित गतिविधि, गैरकानुनी क्रियाकलापलाई निर्ममतापूर्वक नियन्त्रण र निस्तेज गरी कानुनी राज्यको प्रवर्द्धन गर्न दृढ संकल्पित रही आफ्नो कर्तव्यको दौरानमा त्यसको पूर्ण कार्यान्वयन गर्न उहाँले प्रशिक्षार्थीहरूलाई निर्देशन दिनुभयो । प्रहरी महानिरीक्षक सिंहले प्रहरी कर्मचारीको वृत्ति विकासलाई मध्यनजर गरी संगठनलेविभिन्न विश्वविद्यालय र तालिम संस्थाहरूसँग सहकार्यको थालनी गरेकोले आगामी दिनमा प्रविधिको प्रयोग, भौतिक पूर्वाधारको उल्लेख विकास, स्रोतसाथन र उचित तालिमको अवसरले प्रहरीको व्यावसायिकतामा थप निखार थपिने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक सन्दिप भण्डारीले शब्द उच्चारणबाट प्रशिक्षार्थीहरुलाई शपथ ग्रहण गराउनुका साथै धन्यवाद ज्ञापन समेत व्यक्त गर्नुभएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

तालिम संयोजक प्रहरी उपरीक्षक प्रकाश मल्लले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै २०७८ असोज १३ गतेदेखि संचालित उक्त तालिममा ३८ जना महिला सहित कुल ५ सय १ जना प्रशिक्षार्थीहरु दीक्षित भएको जानकारी दिनुभयो । कार्यक्रममा दीक्षित प्रहरी सहायक निरीक्षकहरूलाई आ-आफ्ना अभिभावकहरूले दर्ज्यानी चिन्ह सुशोभन गर्नुभएको थियो । उक्त समारोहमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल थापा, जिल्ला अदालत चितवनका न्यायाधीस रितेन्द्र थापा, राष्ट्रिय भूमि आयोग चितवन जिल्ला समितिका अध्यक्ष बद्री तिमिल्सिना, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष कुसुम लता सिंह, बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक किरण बज्राचार्य, अवकाश प्राप्त प्रहरी नायब महानिरीक्षक ज्ञानेन्द्र विक्रम महत, विभिन्न सरकारी तथा गैह्र साकारी कार्यालयका कार्यालय प्रमुख तथा अन्य आमन्त्रित महानुभावहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिकृया