आनासँग रोमान्स गर्दै अनुप
प्रकाशित मिति
२०७८ चैत्र ३० गते, बुधबार ०६:५३
३० चैत्र २०७८, काठमाडौ : आना शर्मा र अनुपविक्रम शाहीले नयाँ फिल्म ‘माया’मा अनस्क्रिन रोमान्स गर्ने भएका छन् । रोहित वैद्यको डेब्यु निर्देशन रहने फिल्म पारिवारिक कथामा बन्नेछ । यसअघि एक्सन जनरामा काम गरेका यी दुवै कलाकारले फिल्मको भिन्न विधामा स्क्रिन सेयर गर्न लागेका हुन् । वैशाख १३ गतेदेखि काठमाडौंमा फिल्म छायांकन सुरु हुने जनाइएको छ ।
‘म पहिलोपटक विशुद्ध फेमिली ड्रामा जनरामा काम गर्दैछु,’ अभिनेता शाहीले भने, ‘आनासँग पहिलोपटक स्क्रिन सेयर गर्न पाउँदा खुसी पनि छु ।’ आना अभिनित ‘द म्यान फ्रम काठमाडौं’ सन् २०१९ मा रिलिज भएको थियो । अनुप अभिनित ‘लप्पन छप्पन २’ हालै प्रदर्शनमा आएको थियो । अनुप अभिनित दुई फिल्म लाखे र जार प्रदर्शनको तयारीमा छन् ।

यसैबीच, अनुपले आगामी दुई वर्षभित्र सगरमाथा आरोहणको तयारी गरेको बताए । ‘एभरेस्ट चढ्ने मेरो जीवनको ठूलो इच्छा हो,’ उनले भने, ‘सोहीअनुसार दुई वर्षभित्र हिमाल चढ्ने योजना बनाएको छु ।’ उनी पछिल्लो समय टेलिभिजन रियालिटी शो ‘हिालय रोडिज’मा समेत व्यस्त थिए ।





प्रतिकृया