सूर्यविनायक न.पाले पाँचवर्षे गतिबिधि समेटिएको पुस्तक ‘सूर्यविनायक दर्पण’ लोकार्पण
प्रकाशित मिति
२०७८ चैत्र १४ गते, सोमबार ०८:१९
१४ चत्र २०७८, भक्तपुर : सूर्यविनायक नगरपालिकाले २०७४ सालमा निर्वाचित जनप्रतिनिधिहरुले पदभार ग्रहण गरेदेखि हालसम्म भएका बिकासका गतिबिधि समेटिएको पुस्तक ‘सूर्यविनायक दर्पण’ लोकार्पण गरिएको छ । नगरपालिकाले हिजो आइतबार आयोजना गरेको लोकार्पण कार्यक्रममा वाग्मती प्रदेश सभाका सदस्यद्धय शशीजंग थापा, सरस्वती वाटी, जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, मध्यपुरथिमिका नगर प्रमुख मदनसुन्दर श्रेष्ठले संयुक्त रुपमा पुस्तकको लोकार्पण गरेको हो । कार्यक्रममा प्रदेश सभा सदस्य शशीजंग थापाले संघ, प्रदेश र स्थानीय तहको राम्रो समन्वय भयो भने विकासमा अपार उपलब्धी हासिल गर्न सकिन्छ भन्ने नमूना सूर्यविनायक नगरपालिकाले उदाहरण प्रस्तुत गरेको बताए ।
विगत पाँच वर्ष भक्तपुरको इतिहासमा विकासको स्वर्णिम युग भएको चर्चा गर्दै उनले सिंगो देश बनाउन तीन तहको सरकार काफी छ भन्ने नमूना यो पुस्तकबाट पनि झल्किने जनाए । स्थानीय तहमा ०५४ साल पछिको रिक्तताको खाडल यो पाँच वर्षमा पुरा गर्ने सक्दो प्रयास गरेको भन्दै उनले आगामी बैशाख ३० गते हुने निर्वाचनमा जनताले विकासको मूल्यांकन गर्ने जनाए । कार्यक्रममा अर्का वाग्मती प्रदेश सदस्य सरस्वती वाटीले पुस्तकले सूर्यविनायकको सूम्पूर्ण विकास झल्काएको जनाए ।
कार्यक्रममा जिसस प्रमुख नवराज गेलालले स्थानीय तहले गरेको पाँच वर्षे विकासको चित्रण गर्दै यो अबधीमा भएको परिवर्तनको ऐना यो पुस्तक भएको बताए । त्यसअवसरमा मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले आफ्नो नगरपालिकाले चैत १ गतेदेखिनै स्वघोषित आचार संहिता लागू गरेको भन्दै नगरपालिकाका अरु जनप्रतिनिधिले साथ नदिए पनि नगरको विकासलाई अगाडि बढाउन आफू सफल भएको जनाए । कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले जनप्रतिनिधि आए पछि सूर्यविनायकमा के के गर्यो भन्ने जान्न यो पुस्तक हेरे पुग्ने भन्दै उनले जनतासँग गरेको प्रतिबद्धता पुरा गरियो कि गरिएन जनताले मूल्यांकन गर्न सक्ने बताए ।
नगरपालिकामा दुई दलको प्रतिनिधित्व हुँदा पनि कहिले पनि प्रतिपक्ष र सत्ता पक्षको व्यबहार नभएको भन्दै नगरपालिकाको काममा सबै एकजुट भएर लाग्दा विकासले फड्को मारेको चर्चा समेत गरेका छन् । कार्यक्रममा नगरपालिकाका पूर्वाधार विकास समितिका संयोजक एवं वडा नं. ७ का वडाध्यक्ष रबिन्द्र सापकोटा, नगरपालिकाका प्रवक्ता एवं वडा नं. ९ का वडाध्यक्ष उपेन्द्र केसीलगायतले पाँच वर्षमा धेरै काम गर्न सफल भए पनि अझै काम गर्न धेरै बाँकी रहेको जानकारी दिएका छन् ।








प्रतिकृया