जनमत पार्टीका कार्यकर्ताले सरकारी गाडी तोडफोड गर्दा मेयर घाइते
प्रकाशित मिति
२०७८ माघ १२ गते, बुधबार ११:३५
१२ माघ २०७८, काठमाडौं : सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले सर्लाहीको हरिवन नगरपालिकाका मेयर सवार गाडी जनकपुरमा तोडफोड गरेका छन् । सो क्रममा मेयर गणेश प्रसाईं घाइते भएका छन् । गाडीमा मेयर गणेश प्रसाईं र उपमेयर रेनुका पौडेल थिए । उनीहरु राष्ट्रिय सभा निर्वाचनमा मत हाल्न जनकपुरधाम आउँदै थिए ।
सिके राउतका कार्यकर्ताहरुले जनकपुर–४ मा गाडीमा आक्रमण गरी सिसा फुटाएका छन् । प्रदर्शनकारीको आक्रमणबाट मेयर प्रसाईंको कन्चटनेर चोट लागेको छ ।
जनमत पार्टीका कार्यकर्ताहरुले आज बिहानैदेखि जनकपुरधामका बिभिन्न स्थानमा प्रदर्शन गर्दै आएका छन् । उनीहरु राष्ट्रिय सभा चुनावको मतदानस्थल प्रवेश गर्न खोज्दा प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको थियो । त्यसपछि पनि प्रहरी र प्रदर्शनकारीबीच पटक पटक झडपका घटना भइरहेका छन् ।
जनमत पार्टीका कार्यकर्ताहरुले आज बिहानै ‘पहिले खाद देऊ, अनि भोट खसाऊ’ भन्दै जनकपुरका बिभिन्न स्थानमा टायर बालेर प्रदर्शन गरेका थिए ।






प्रतिकृया