विधानसम्मत निर्वाचित भएको विनोद चौधरीको दाबी
प्रकाशित मिति
२०७८ पुष २२ गते, बिहीबार ०२:३४
२२ पुस २०७८, काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले आफू पार्टीको विधान र विधिवत रूपमा सम्पूर्ण प्रक्रिया पूरा गरेर पार्टीको १४ औँ महाधिवेशनमा निर्वाचित भएको दाबी गरेका छन् । नेतृत्व छनौटका लागि भएको निर्वाचनमा आफै सहभागी भएको बाबजुत पनि निर्वाचन हारेपछि विधिसम्मत थिएन भनेर प्रश्न उठाउनु अलोकतान्त्रिक र अराजनीतिक चरित्र भएको उनले टिप्पणी गरेका हुन् ।
चौधरीले आफू योग्य नरहेको कसैलाई लागेको भए उनको उम्मेदवारी पर्नासाथै बिरोध गर्नुपर्ने उल्लेख गर्दै चुनाबको नतिजा नै आइसकेपछि बिरोधको अर्थ नरहेको प्रश्ट पारे । महाधिवेशनमा निर्वाचन समितिले उम्मेदवारी दर्ता पछि विधिवत रूपमा दावी विरोधको समय उपलब्ध गराएको थियो । यदि म अयोग्य थिएँ भन्ने कसैलाई लागेको थियो भने त्यो समयमा किन दावी विरोध गरिएन ? ’ केन्द्रीय सदस्य चौधरीले भने, ‘आफै सोही निर्वाचनमा उम्मेदवार हुने र विजय हुन नसकेपछि विधिसम्मत भएन भनेर रोइलो गर्नुको कुनै अर्थ छैन । नेपाली काँग्रेसजस्तो लोकतान्त्रिक पार्टीमा यस्तो व्यवहार अपेक्षित मानिँदैन ।’
नेपाली कांग्रेसको १४औँ महाधिवेशनको निर्वाचनमा चौधरी केन्द्रीय सदस्य (मधेशीतर्फ) दोस्रो धेरै मत २२०६ प्राप्त गरि विजय भएका थिए । सोही पदका लागि प्रतिस्पर्धामा रहेका सिरहाका सुभाषचन्द्र यादव पराजित भएका थिए । निर्वाचनमा पराजय भएको ३ सातापछि यादवले विधानमाथि प्रश्न उठाउँदै निर्वाचन आयोगमा उजुरी दिएका हुन् ।
निर्वाचितहरूलाई लाञ्छित गर्नु कार्यकर्ताहरूको अपमान गर्नु भएको उनले जिकीर गरे । ‘चौधरीले भने, ‘म नेपाली कांग्रेसका होनहार कार्यकर्ताहरूबाट अनुमोदन भएर केन्द्रीय सदस्य पदमा निर्वाचित भएको हुँ । यसैगरि निर्वाचित हुने हक हरेक उम्मेदवारलाई थियो । तर, निर्वाचनमा पराजय भएपछि निर्वाचितहरूलाई लान्छित गर्नु भनेको आम कार्यकर्ताहरूको अपमान पनि हो ।’







प्रतिकृया