• १७ असोज २०८३, शनिबार
  • ८ः०५ बिहान

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा ‘क्रिसमस डे’को शुभकामना

प्रकाशित मिति

२०७८ पुष १० गते, शनिबार ०६:५९

१० पुस २०७८, काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बी नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र दीर्घायुको लागि शुभकामना व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले दिएको सन्देशमा यस्ता चाडपर्वको माध्यमबाट विविध सांस्कृतिक पहिचान एवम् धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र एकताको भावना अभिवृद्धि हुनाका साथै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिएको बताइन् ।

National Life

उनले क्रिसमस डेजस्ता पर्वले सबै नेपालीबीच आपसी विश्वाकस, प्रेम र बन्धुत्वको भावनालाई प्रगाढ बनाउँदै सभ्य र सुसंस्कृत समाज तथा समुन्नत नेपाल निर्माणतर्फ अग्रसर हुन सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि गरेकी छन्। यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले पनि क्रिसमस पर्वका अवसरमा सम्पूर्ण इसाई धर्मालम्बीहरुमा सुख, शान्ति, सुस्वाथ्य र दीर्घायुको शुभकामना व्यक्त गरेका छन् ।


उनले शुभकामना सन्देशमार्फत हाम्रा चाडपर्व र संस्कृति राष्ट्रिय एकता, पारस्परिक सद्भाव र राष्ट्रिय मौलिक संस्कृतिको निर्माणका लागि महत्वपूर्ण रहँदै आएको उल्लेख गर्दै क्रिसमसले सबै नेपालीबीच एक आपसमा विश्वास र बन्धुत्वको भावना कायम राख्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् । नेपाल बहुजातिय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताले भरिएको मुलुक भएको र जातिय, भाषिक, सांस्कृतिक तथा धार्मिक विविधता नेपालका लागि मात्र नभई विश्व समुदायकै लागि एक महत्वपूर्ण पूँजी रहँदै आएको शुभकामना सन्देशमा उल्लेख छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रधामन्त्री देउवाले कोभिड–१९ को नियन्त्रण र व्यवस्थापनका प्रयास प्रभावकारी देखिए पनि यसको नयाँ स्वरूप ओमिक्रोन सङ्क्रमणका सम्बन्धमा विश्व स्वास्थ्य सङ्गठन र विज्ञहरूले चिन्ता व्यक्त गरिरहेकाले स्वास्थ्यका मापदण्डहरू पालना गर्दै सुरक्षितरूपमा हर्षोल्लासपूर्वक यो पर्व मनाउन सबैमा अनुरोध गरेका छन् ।

प्रतिकृया