कांग्रेसका जिल्ला अधिवेशन आज
प्रकाशित मिति
२०७८ मंसिर १० गते, शुक्रबार १०:०२
१० मंसिर २०७८, काठमाडौं : कांग्रेसले एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका ४२ जिल्लामा शुक्रबार जिल्ला अधिवेशन गर्दैछ। भदौ १८ गतेदेखि वडास्तरीय अधिवेशन प्रारम्भ गरेको कांग्रेसले अधिकांश जिल्लामा पालिकास्तरको अधिवेशन र प्रदेशसभा क्षेत्रीय अधिवेशन सम्पन्न गरिसकेको छ।
बिहीबारसम्म एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका ३४ जिल्लाहरूमा जिल्ला अधिवेशन सकिएको छ। रसुवाको अधिवेशन पनि शुक्रबार नै तोकिएको निर्वाचन समिति सदस्य जगन्नाथ श्रेष्ठले बताए। सर्लाहीमा भने वडा र पालिका अधिवेशन भइरहेको छ। अधिवेशन सम्पन्न भएका ३४ जिल्लामध्ये १८ जिल्लामा समापति शेरबहादुर देउवा समूहका सभापति निर्वाचित भएका छन्।
१ सय ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये १ सय २२ क्षेत्रमा क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेका छन्। कांग्रेसको विधानअनुसार प्रत्येक निर्वाचन क्षेत्रबाट बढीमा २७ जनाका दरले महाधिवेशन प्रतिनिधि चयन हुन्छन्। प्रदेश अधिवेशन मंसिर १६ र १७ गते प्रदेश राजधानीहरूमा हुनेछ छ। कांग्रेसको १४औं महाधिवेशन मंसिर २४–२६ गतेसम्म काठमाडौँमा तोकिएको छ।
सभापति देउवा र तेस्रो धार मानिएका कृष्णप्रसाद सिटौला पक्षले काठमाडौं जिल्ला सभापतिमा संयुक्त उम्मेदवार उठाएका छन्। भीमसेनदास प्रधान निकट मानिएका उपेन्द्र कार्कीलाई सभापतिको उम्मेदवार बनाउने तयारी छ। प्रकाशमान सिंह र गगन थापा समूहले भने अहिलेकै सभापति सबुज बानियाँलाई उम्मेदवार बनाएका छन्।
सिटौलाले भने, ‘देउवाजी र हामीले साझा उम्मेदवारका रूपमा कार्कीजीलाई अगाडि सारेका छौं।’ यसअघि काठमाडौं क्षेत्र नम्बर २ मा देउवा–सिटौला समूहकै टिमले जितेको थियो। दुवैजना क्षेत्रीय सभापति देउवा–सिटौला समूहका निर्वाचित भएका थिए। त्यसबाहेकका क्षेत्रमा भने प्रकाशमान–गगनको प्यानल अघि छ।








प्रतिकृया