• १९ असोज २०८३, सोमबार
  • ५ः२९ बेलुका

पेट्रोलियम पदार्थको मूल्य : भारतमा अहिलेसम्मकै उच्च, नेपालमा असर देखिँदै

प्रकाशित मिति

२०७८ आश्विन १८ गते, सोमबार ०७:४१

१८ असोज २०७८ काठमाडौँ : छिमेकी देश भारतमा पेट्रोलियम पदार्थको मूल्य अहिलेसम्मकै उच्च भएको छ । आइतवार मूल्य समायोजन गर्दै भारतले पेट्रोलमा २५ पैसा भारू र डिजेलमा ३० पैसा भारू वृद्धि गरेको छ । यससँगै दिल्लीमा पेट्रोल १ लिटरको मूल्य १०२.३९ भारू र मुम्बईमा १०८.४३ भारू पुगेको छ । डिजेल पनि आकाशिएको छ ।

National Life

दिल्लीमा डिजेलको मूल्य प्रतिलिटर ९०.७७ भारू र मुम्बईमा ९८.४८ भारू पुगेको टाइम्स अफ इन्डियाले जानकारी दिएको छ । भारतमा राज्यले लगाउने करलगायत कारण फरकफरक मूल्य पर्छ । भारतले क्रुड आयल खरीद गरी आफै प्रशोधित गरी इन्धन विक्री गर्छ । भारतमा मूल्य बढ्दा नेपाल आयल निगमको नोक्सानीसमेत बढ्ने निगमको दाबी छ ।


इन्डियन आयल कर्पोरेशन (आईओसी) बाट नयाँ मूल्यसूची नेपाल आयल निगमले पाइसकेको छ । निगमका अनुसार यो सूची प्राप्त भएसँगै नेपाल आयल निगमको नोक्सानी थप बढ्ने निश्चित छ । अक्टोबर १ मा आईओसीबाट प्राप्त मूल्यसूचीका आधारमा १५ दिनमा इन्धन विक्रीबाट १ अर्ब ५० करोडभन्दा बढी नोक्सान हुने निगमको प्रक्षेपण छ ।

Classic Tech Mobile
Classic Tech Desktop

आईओसीले पठाएको नयाँ मूल्य र नेपालभित्र लाग्ने कर तथा अन्य विभिन्न लागत जोड्दा निगमलाई प्रतिलिटर पेट्रोलमा १३९.१८ रुपैयाँ, डिजेलमा १२०.०१ रुपैयाँ, मट्टीतेलमा ९३.९४ रुपैयाँ, आन्तरिक उडानमा प्रयोग हुने हवाई इन्धनमा ८४.०७ रुपैयाँ, बा७बकथmउसय उडानमा प्रयोग हुने हवाई इन्धनमा ७६.४४ रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर रू १ हजार ९६१.८८ लागत पर्ने देखिएको छ ।


निगमले पछिल्लो समय गत भदौ ७ गते पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको थियो । यसअनुसार प्रतिलिटर पेट्रोलको रू. १३०, डिजेल र मट्टीतेलको रू.११३, आन्तरिक हवाई इन्धनको रू.८६ र खाना पकाउने ग्यास प्रतिसिलिन्डर रू. १ हजार ४५० तोकिएको छ । उल्लिखित मूल्यका आधारमा अहिले निगमलाई प्रतिलिटर पेट्रोलमा ९.१८, डिजेलमा ७.०१ घाटा छ भने मट्टीतेलमा १९.५९, आन्तरिक हवाई इन्धनमा १.९३, बाह्य हवाई इन्धनमा १५.१० रुपैयाँ नाफा छ । खाना पकाउने ग्यास प्रतिसिलिन्डर ५११.८८ रुपैयाँ नोक्सान भइरहेको निगमको भनाइ छ ।


निगमलाई नाफा भएका मट्टीतेल तथा हवाई इन्धनको माग तुलनात्मक रूपमा कम रहेको र नोक्सानी हुने पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको माग अत्यधिक भएका कारण यही मूल्यमा विक्री गर्दा निगमलाई १५ दिनमा मात्रै १ अर्ब ५० करोड ७३ लाख रुपैयाँ नोक्सान हुने प्रक्षेपण गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।


प्रवक्ता उपाध्यायका अनुसार अहिले अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ८० डलर प्रतिब्यारेलको हाराहारीमा पुगेको छ । अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै निगमको घाटा वृद्धि हुने उनले बताए । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

प्रतिकृया