• २० असोज २०८३, मंगलबार
  • ६ः१० बेलुका

तरलता टार्न राष्ट्र बैंकद्वारा ३० अर्बको रिपो जारी

प्रकाशित मिति

२०७८ आश्विन १३ गते, बुधबार ०५:४२

१३ असोज, २०७८ काठमाडौँ : नेपाल राष्ट्र बैंकले ३० अर्बका लागि रिपो जारी गरेको छ । बैंकिङ प्रणालीमा तरलताको अभाव खड्किएपछि राष्ट्र बैंकले एक साताका लागि रिपो जारी गरेर ३० अर्ब रूपैयाँ तरलता इन्जेक्ट गर्न लागेको हो । उक्त रिपो असोज २० गते परिपक्व हुने राष्ट्र बैंकले जनाएको छ ।

National Life

वाणिज्य बैंक, विकास बैंक र वित्तीय कम्पनीहरूले रिपोमार्फत तरलता लिन पाउने छन् । यस सुविधामार्फत तरलता लिनका लागि राष्ट्र बैंकमा बैंक तथा वित्तीय संस्थाले अनिवार्यरूपमा मास्टर्स पर्चेज एग्रिमेन्ट गरेको हुनुपर्नेछ । भदौदेखि नेपाल राष्ट्र बैंकले विभिन्न खुला बजार कारोबारमार्फत ७५ अर्बभन्दा बढी तरलता बजारमा पठाएको छ । मौद्रिक नीतिमार्फत सीडी अनुपात कार्यान्वयनमा ल्याइएपछि तरलतामा दबाब पर्दै आएको छ ।


ब्याजदर कार्यविधि २०७६ अनुसार राष्ट्र बैंकले रिपो जारी गरेर तरलता अभावको समाधान गर्न पाउने व्यवस्था गरिएको छ । ७ र १४ दिनका रिपोमार्फत रकम बजारमा पठाइन्छ । रिपोमार्फत रकम लिन चाहने बैंक तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकलाई ब्याज तिर्नुपर्ने हुन्छ । अहिले ७ दिने रिपोको ब्याजदर ४.९० प्रतिशत र १४ दिन रिपोको ब्याजदर ४.८७ प्रतिशत निर्धारण गरिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया