हत्यापछि तालिबानले शव सार्वजनिक स्थानमा झुण्ड्याए
प्रकाशित मिति
२०७८ आश्विन १० गते, आईतवार ०८:४३
१० असोज, २०७८ काठमाडौँ : अफगानिस्तानमा तालिबानले चार व्यक्तिको हत्या गरेर उनीहरुको शव सार्वजनिक स्थानमा झुण्ड्याएको छ ।हेरात सहरमा चारजनाको हत्या गरी उनीहरुको शव स्थानीय चौरहरुमा झुण्ड्याइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
हत्या गरिएका व्यक्ति अपहरणकारी रहेको र चेतावनीस्वरुप शव सार्वजनिक स्थानमा झुण्ड्याइएको तालिबानले बताएको छ । उनीहरुलाई गोली हानेर शनिबार हेरातका विभिन्न चौरमा झुण्ड्याइएको हो। तालिबानका नेता मुल्ला नूरुद्दिन तुराबीले यही हप्ता आफ्नो शासन व्यवस्थामा सार्वजनिक स्थानमा नभए पनि मृत्युदण्ड र शरीरका अंग काट्नेसहितका गम्भीर सजाय हुने बताएका थिए ।
त्यसको केही दिनपछि नै चारजनाको हत्या गरेर सार्वजनिक स्थानमा झुण्ड्याइएको हो । अमेरिकाले शरीरका अंग काट्नेसहितका सजायको घोषणा तालिबानले गरेपछि त्यसको निन्दा गरेको थियो । अफगानिस्तानको कानुनमा मृत्युदण्डको सजायको व्यवस्था रहे पनि पछिल्लो दुई दशक सार्वजनिक रुपमा यसलाई प्रयोग गरिएको थिएन । मृत्युदण्ड दिइए पनि सार्वजनिक स्थानमा हुने गरेको थिएन ।
तालिबानले हत्या गरिएका चारजनाको शव सहरका खुला चौरमा क्रेनमार्फत झुण्ड्याइएको स्थानीय बासिन्दाले एसोसिएटेड प्रेससँग भनेका छन् । गएको अगस्ट १५ मा तालिबानले काबुल नियन्त्रणमा लिएको थियो । अहिले तालिबानको अन्तरिम सरकारले अफगानिस्तान शासन चलाइरहेको छ।








प्रतिकृया