• १६ असोज २०८३, शुक्रबार
  • १ः१४ राती

बनेपाको पुल बजार क्षेत्रमा डुबान

प्रकाशित मिति

२०७८ असार २५ गते, शुक्रबार ०१:२४

काठमाडौँ : काभ्रेको बनेपास्थित पुल बजार क्षेत्र हरेक वर्ष जस्तै शुक्रबार पनि डुबानमा परेको छ । हरेक वर्ष हुने डुबानको समस्या समाधान नहुँदा स्थानीय समस्यामा पर्दै आएका छन् । शुक्रबार बिहान पनि राजमार्गमा साना गाडी नै डुब्ने पानी जम्मा भयो । साना चार पांग्रे गाडीहरु आधा डुबेको देखिन्थ्यो ।

National Life

पैदलयात्रुले त्यो भल हुँदै बाटो पार गर्नै सकेनन् । मोटरसाइकल चढेर बाटो पार गर्न खोज्नेहरु भलमै लडे । वरपरका घर–पसल पनि जलमग्न भएका छन् । त्यो भल पार गर्न आँट नगर्नेहरु पानीको सतह कम नभइन्जेल कुरेर बसे ।


पुण्यमाता खोलाको बाढीले हरेक वर्ष पुल बजार क्षेत्र डुबानमा पर्दछ । अतिक्रमणको कारण खोला साँघुरो छ । अलि ठूलो पानी पर्नासाथ पानी ओभरफ्लो भएर सडक पूरै ढाक्छ । बनेपा बजारमै गाडी डुबाउने भल पार गर्दै गन्त्वयमा पुग्नुपर्ने बाध्यता हरेक वर्ष आइलाग्छ । तर यो समस्याको दीर्घकालीन समस्याको समाधान हुन सकेको छैन ।

Classic Tech Mobile
Classic Tech Desktop

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी भुपेन्द्र खत्रीले भने, ‘यो सधैंको समस्या हो, सडक अलि माथि नउठाएसम्म यस्तो समस्या आइरहन्छ ।’ गेग्रान, काठपात अड्किएर पनि पानीको बहावमा अवरोध हुने गरेको उनको भनाइ छ । एसपी खत्रीका अनुसार शुक्रबार बिहान पुण्यमाता खोलाको बाढीले आधा घण्टा जति सडक अवरुद्ध भएको थियो ।

प्रतिकृया