मोटरसाइकल तथा भैसी चोरी गरी लैजादै गरेको अवस्थामा २ जना पक्राउ
प्रकाशित मिति
२०७८ असार ७ गते, सोमबार ०१:२४
सुनसरी : कोशी गाउँपालिका-१ बस्ने विक्रम साहको आफ्नै घरमा राखेको बा.९० प ७७९३ नम्बरको मोटरसाइकल चोरी गरी लैजादै गरेको अवस्थामा सोही ठाउँ बस्ने ओम प्रकाश यादवलाई सोही गाउँपालिका-८ भण्टाबारीबाट शनिबार प्रहरीले पक्राउ गरेको छ । यसैगरी सुनसरी ईनरुवा नगरपालिका-९ बविया बस्ने रामरुप खत्वेको घरबाट भैसी र पाडा चोरी गरी लैजादै गरेको अवस्थामा भोक्राहा नरसिंह गाउँपालिका-५ टपरा बस्ने २२ वर्षीय जियाउदिन मन्सुसरीलाई सोही गाउँपालिका-६ सुकसेना नहरछेउबाट शनिबार प्रहरीले पक्राउ गरेको छ । मोटरसाइकल तथा भैसी चोरी भएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुनसरीबाट छुट्टाछुट्टै खटिएको प्रहरीले दुवै जनालाई पक्राउ गरी गरेको हो । उनीहरु उपर जिल्ला अदालत सुनसरीबाट ७ दिन म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
अवैध लागूऔषध सहित पक्राउ
भक्तपुर, मध्यपुर थिमी नगरपालिका-१ लोकन्थलीस्थित सडकबाट अवैध लागूऔषध सहित सोही ठाउँ डेरा गरी बस्ने सुनसरी दुहवी नगरपालिका-६ ठेगाना भएका ४३ वर्षीय गोपाल पोखरेललाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त सडकमा बा.९८ प ७५९९ नम्बरको स्कुटरलाई लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा स्कुटरमा सवार उनलाई ५ सय मिलिग्राम लागूऔषध खैरो हेरोईन सहित फेला पारी नियन्त्रणमा लिएर डेरा कोठा समेत तलासी गर्दा नियन्त्रित लागूऔषध एक सय एमएलको डाईलेक्स डिसि ७ बोतल, ६० ग्राम लागूऔषध गाँजा र १ थान डिजिटल तराजु बरामद भएको छ । उनी उपर लागूऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको लागूऔषध नियन्त्रण व्यूरोले जनाएको छ ।
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
भक्तपुर, १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा काभ्रे, धुलिखेल नगरपालिका-८ घर भएका २३ वर्षीय जयराम चौलागाईलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । शनिबार बिहान ती किशोरी हराएको भनी जिल्ला प्रहरी कार्यालय धुलिखेलमा जाहेरी प्राप्त हुनासाथ ती किशोरीको खोजी गर्ने क्रममा महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले काठमाडौं सुन्धारामा फेला पारेको थियो । थप अनुसन्धानका क्रममा जयरामले ती किशोरीलाई ललाई फकाई घुम्न जाउ भनी भक्तपुर नगरपालिका-४ सूर्यविनायकस्थित गेष्ट हाउसमा खाजा नास्ता खाने बाहानामा डर धम्की दिई जबरजस्ती करणी गरेको खुलेपश्चात चौलागाईलाई सुन्धाराबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसार भक्तपुरले जनाएको छ ।
तनहुँ, ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ब्याँस नगरपालिका-९ झिनुवाटार बस्ने ५५ वर्षीय प्रेम बहादुर थापालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । थापाले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कलेस्टीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको छ ।
यौन दुर्व्यवहार गरेको अभियोगमा शिक्षक पक्राउ
मनाङ, नार्पाभूमी गाउँपालिका-१ नार गाँउस्थित नार आधारभूत विद्यालयमा युकेजि र प्ले ग्रुपका अध्ययनरत छात्राहरुलाई यौन दुर्व्यवहार गरेको अभियोगमा सोही विद्यालयका शिक्षक नासो गाउँपालिका-७ तिल्चे घर भएका ४३ वर्षीय अजय राम गुरुङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त विद्यालयमा अध्ययनरत साना छात्राहरुलाई ट्युसन पढ्न आएको अवस्थामा दुर्ब्यवहार गर्ने गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मेहेताबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको छ ।
तास खेलिरहेको अवस्थामा पक्राउ
काठमाडौं, गोकर्णेश्वर नगरपालिका-७ दक्षिणढोकास्थित मानकाजी लामाको एचएम कार्पेट उद्योगमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-६ घर भएका ३५ वर्षीय लाल काजी तामाङ लगायत १० जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त उद्योगमा जुवातास खलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ४० हजार ३ सय ६५ रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको छ ।
अवैध लागूऔषध चरेश बरामद
रुपन्देही, रोहिणी गाउँपालिका-१ दशगजा ठुलो पिल्लरबाट करिब ३ किलो ५ सय ३६ ग्राम अवैध लागूऔषध चरेश आइतबार दिउँसो प्रहरीले बरामद गरेको छ । नेपालबाट भारततर्फ जाँदै गरेका अपरिचित व्यक्तिहरु प्रहरी चौकी वगाहाबाट गस्तीमा खटिएको प्रहरीलाई देख्नासाथ उक्त चरेश छोडी फरार भएपछि चरेश प्रहरीले बरामद गरेको हो । साथै भारतबाट नेपालतर्फ अबैध रुपमा ल्याउँदै गरेको करिब ६० हजार रुपैयाँ मूल्य बराबरको २ वटा पाडा समेत प्रहरीले बरामद गरेको छ । उक्त कार्यमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको छ ।
सवारी दुर्घटनामा ४ जनाको मृत्यु
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१४ बासपानी मोडस्थित सडकमा भे.१ क ९१३ नम्बरको ट्रकले लु.६६ प २८२३ नम्बरको मोटरसाइकललाई आइतबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका-११ बस्ने ३५ वर्षीय खेम प्रसाद पोखरेलको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएको उनको देउती नर्सिहहोममा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कास्की, अन्नपूर्ण गाउँपालिका-३ लक्ष्मी देउराली पत्थर ढुङ्गास्थित सडकमा प्रदेश नम्बर ३-०१-००३ क ५१७३ नम्बरको टिपर र ग.२० प ६०३० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर आइतबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा मोटरसाइकल चालक पर्वत मोदी गाउँपालिका-१ बस्ने ३३ वर्षीय बिनोद मल्ल र मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ४७ वर्षीय भिम बहादुर मल्लको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको मणिपाल अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बाँके, नेपालगंज उपमहानगरपालिका-१८ एसके पेट्रोल पम्प नजिक सडकमा भे.८ प ७०० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही उपमहानगरपालिका-१९ बस्ने ६२ वर्षीय छेदन खटिकको आइतबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको नर्सिङहोम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको छ ।
ढलानको सेटिङ खोल्ने क्रममा २ जनाको मृत्यु
संखुवासभा, खाँदबारी नगरपालिका-४ सेखा बस्ने नरेश गुरुङको घरमा नयाँ शौचालय बनाउने क्रममा ढलानको सेटिङ खोल्ने क्रममा चोट लागेर २ जनाको आइतबार साँझ मृत्यु भएको छ । मृत्यु हुनेहरुमा सोही नगरपालिका-५ बस्ने ३७ वर्षीय ताराबिर गुरुङ र सोही नगरपालिका-४ बस्ने २४ वर्षीय ईश्वर बहादुर राई रहेका छन् । सेटिङ खोल्ने क्रममा उनीहरु गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी मानेभञ्याङबाट खटिएको प्रहरीले घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल खाँदबारी पठाएकोमा उपचारको क्रममा दुवै जनाको मृत्यु भएको हो । सामान्य घाइते भएका सोही ठाउँ बस्ने २४ वर्षीय मैते शेर्पाकोको सोही अस्पतालमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको छ ।
मृत अवस्थामा फेला
ताप्लजुङ, सिदिङवा गाउँपालिका-४ टाँसीबोटेस्थित पोखरीमा सोही ठाउँ बस्ने ३९ वर्षीय खड्ग बहादुर तामाङ आइतबार मृत अवस्थामा फेला परेका छन् ।
दाङ, घोराही उपमहानगरपालिका-१४ स्थित पाल्पाली होटेलमा सोही उपमहानगरपालिका-१८ बस्ने ३५ वर्षीय आकाश खड्का सोमबार मृत अवस्थामा फेला परेका छन् ।
बझाङ, जयपृथ्वी नगरपालिका-८ स्थित बाहुली खोलाको गौथली ओराड नजिक खोलाको किनारामा हाल नाम, थर, वतन नखुलेका करिब ३० वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको छ ।







प्रतिकृया