ट्राफिक नियन्त्रण तालिम समापन
प्रकाशित मिति
२०७८ असार ३ गते, बिहीबार ०३:१०
काठमाडौँ : राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा प्रहरी हवल्दार तथा जवानका लागि संचालित १३९औं समूहको ट्राफिक नियन्त्रण तालिम सोही महाशाखामा बिहीबार आयोजित एक कार्यक्रमबीच समापन भएको छ । तालिम समापनका अवसरमा महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले सहभागीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो । सो अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले अहिलेको परिस्थितिमा कार्यक्षेत्र चुनौतीपूर्ण रहेको बताउँदै त्रुटिरहित ढंगबाट कार्यसम्पादन गर्न तालिममा सिकेका कुराहरू सँगै अनुभव मार्फत् आफूमा सीप विकास गर्दै सम्पन्न गर्न प्रशिक्षार्थीलाई निर्देशन दिनुभयो । सिक्ने क्रमको समापन कहिल्यै नहुने भएकोले सबै प्रशिक्षार्थीहरूले तालिम पछि पनि स्वअध्ययनलाई प्राथमिकतामा राखी सवारी दुर्घटना न्यूनीकरण तथा सवारी आवागमन सहज तुल्याउन तालिममा सिकाइएको ज्ञान, सिपलाई व्यवहारमा उतार्नु आवश्यक हुने उहाँले बताउनुभयो । वैशाख १२ गतेदेखि शुरू भएको उक्त तालिममा प्रहरी हवल्दार १ जना र प्रहरी जवान ६१ गरी कूल ६२ जना प्रशिक्षार्थीहरुले सफलतापुर्वक तालिम हासिल गरेको तालिम संयोजक प्रहरी नायव उपरीक्षक सुनिल जंग शाहले जानकारी दिनुभयो ।
पेस्तोल सहित ३ जना पक्राउ
उदयपुर, त्रियुगा नगरपालिका-३ मोतिगढाबाट १ थान पेस्तोल सहित ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ५९ वर्षीय पशुराम चौधरी, सोही ठाउँ बस्ने ५० वर्षीया श्याम कुमारी चौधरी र सप्तरी सुरुङ्गा नगरपालिका-८ बस्ने २३ वर्षीय बबि चौधरी रहेका छन् । पशुरामको घरमा हातहतियार रहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उक्त पेस्तोल फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
१४३ किलोग्राम ३ सय ग्राम अवैध लागूऔषध गाँजा सहित ३ जना पक्राउ
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११ थानाभर्या्ङस्थित सडकबाट ना.१ ख ९९१० नम्बरको कन्टेनर गाडीमा रहेको १ सय ४३ किलोग्राम ३ सय ग्राम अवैध लागूऔषध गाँजा सहित ३ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गाडी चालक सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-५ सिगार्से बस्ने २८ वर्षीय सनक बहादुर तामाङ, गाडीका सह-चालक सोही नगरपालिका-८ मानेश्वबरा बस्ने २४ वर्षीय सोमे तामाङ र गाडीमा सवार मकवानपुर राक्सिराङ गाउँपालिका-१ गल्छराङ बस्ने १८ वर्षीय किशोर रहेका छन् । मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको उक्त कन्टेनर गाडीमा लागूऔषध ल्याउँदै गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले जाँच गर्दा गाडीमा चालक बस्ने सिट पछाडि फल्स बटम बनाई १२ वटा पोकामा लुकाइ ल्याएको उक्त परिमाणको लागूऔषध गाँजा फेला पारी गाँजा र गाडी सहित उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
१५ लाख रुपैयाँ फिरौती माग गरेको अभियोगमा पक्राउ
बारा, सुवर्ण गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नविन कुमार श्रीवास्तवसँग १५ लाख रुपैयाँ फिरौती माग गरेको अभियोगमा सोही गाउँपालिकामा करारमा काम गर्ने कार्यालय सहयोगी सुवर्ण गाउँपालिका-४ हर्दिया टोल बस्ने २८ वर्षीय मुकेश प्रसाद यादवलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । उक्त फिरौती रकम माग गरी १ घण्टाभित्र नदिएमा गोली समेत प्रहार गरी हत्या गरी दिन्छु भनि पटकरपटक फोन तथा मेसेज गरी फिरौती माग गरेको भन्ने अडियो सहितको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यादव उपर अपराधिक लाभ मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
आफ्नै छोरीलाई जबरजस्ती करणी गरी हत्या गरेको अभियोगमा पक्राउ
कैलाली, आफ्नै १० वर्षीया छोरीलाई जबरजस्ती करणी गरी हत्या गरेको अभियोगमा लम्की चुहा नगरपालिका(२ बघनिया बस्ने उनकै ५१ वर्षीय पुरुषलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । ती बालिका आफ्नै घरमा गत जेठ २७ गते दिउँसो मृत अवस्थामा फेला परेको घटनाको ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले अनुसन्धान गर्दा मृतकको बुवाले आफ्नै भैसी गोठमा लगि जबरजस्ती करणी गरी पोल खुल्ने डरले भैसी गोठमा नै झुण्डाई हत्या गरेको र घटना लुकाउन आत्महत्या गरेको जस्तो देखाउन खोजेको खुल्न आएपछि उनलाई पक्राउ गरेको हो । उनी उपर ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दामा कैलाली जिल्ला अदालतबाट म्याद थप अनुमती लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
कर्तव्य ज्यान मुद्दामा संलग्न फरार अभियुक्त १२ वर्षपछि पक्राउ
कैलाली, कर्तव्य ज्यान मुद्दामा संलग्न फरार अभियुक्त टिकापुर नगरपालिका-२ राजुपुर बस्ने ४४ वर्षीय धर्म टमट्टालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । २०६६ जेठ १४ गते राति धर्म र टिकापुर नगरपालिका-१ बस्ने नबिन जंग शाह समेत ४ जना टिकापुर नगरपालिका-२ खोटेना भुराखानी सामुदायिक वनमा सिकार खेल्न गएको समयमा भरुवा बन्दुक पड्किन गई गोली लागेर नबिन जंगको मृत्यु भएको घटनामा संलग्न रही फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले आफ्नै घर ठेगानामा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
बालबिवाह र जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ
सुर्खेत, बालबिबाह र जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी वीरेन्द्रनगर नगरपालिका(२ बाङेसिमल कोलडाडा बस्ने २७ वर्षीय टेक बहादुर नेपालीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । बालबिबाह र जबरजस्ती करणी मुद्दामा सर्वोच्च अदालतको फैसलाले १ वर्ष ४ दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि सुर्खेत जिल्ला अदालतमा उपस्थित गराइने जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
जबरजस्ती करणी गरी फरार रहेका १ जना पक्राउ
सुनसरी, १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरी फरार रहेका इनरुवा नगरपालिका-९ बस्ने ३४ वर्षीय प्रमोद मेहतालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । ती किशोरीलाई गत जेठ ३ गते जबरजस्ती करणी गरी फरार रहेका उनको खोजी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनलाई गढी गाउँपालिकाबाट पक्राउ गरेको हो । उनी उपर जिल्ला अदालत सुनसरीबाट म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सुनचाँदी पसलबाट विभिन्न धनमाल लुटपाट
महोत्तरी, सम्सी गाउँपालिका-१ पर्सा बजार बस्ने ५० वर्षीय वीरेन्द्र साहको राजिव ज्वेर्लस सुनचाँदी पसलबाट सुनका विभिन्न गहना र नगद २ लाख समेत गरी करिब ८ लाख ९७ हजार २ सय रुपैयाँ मूल्य बराबरको धनमाल गए राति लुटपाट भएको छ । उक्त पसलमा करिब १० जनाको समूहमा आएका अपरिचित व्यक्तिहरुले कटुवा पेस्तोल जस्तो देखिने हतियार र रड प्रयोग गरी वीरेन्द्र साह लगायत ५ जनालाई कुटपिट गरी उक्त धनमाल लुटेर फरार भएको बताइएको छ । लुटपाटमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सवारी दुर्घटनामा परी २ जनाको मृत्यु
भक्तपुर, मध्यपुर ठिमी नगरपालिका-४ चारदोबाटोस्थित सडकमा बा.७७ प ५६०५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक काठमाडौं काडाघारी बस्ने सोलुखुम्बु घर भएका २७ वर्षीय रमेश कुमार बस्नेतको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नागरिक अस्पताल गठ्ठाघर हुँदै शिक्षण अस्पताल महाराजगंजमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
संखुवासभा, चिचिला गाउँपालिका-३ स्थित बा.५ ख १४० नम्बरको टिपरको ढालामा रहेको ढुङगा झार्ने क्रममा टिपर अनियन्त्रित भई भिरबाट अन्दाजी २ सय मिटर तल अरुण नदीको बगरमा खसेर बुधबार राति दुर्घटना हुँदा टिपरमा सवार धनकुटा, धनकुटा नगरपालिका घर भएका २२ वर्षीय दिपेश भटराईको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका टिपरका चालक काभ्रे भकुण्ढेबेसी बस्ने २० वर्षीय नवराज श्रेष्ठलाई उपचारको लागि जिल्ला अस्पताल खादबारी पठाइएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
डुबेर मृत्यु
नवलपरासी(पूर्व), बिनयीत्रिबेणी गाउँपालिका-७ स्थित छतिया खोला नजिकै कलभर्टको छेउमा जमेको पानीमा डुबेर सोही ठाउँ बस्ने बिनोद थापाको छोरा १० वर्षीय रिजन थापाको बुधबार दिउँसो मृत्यु भएको छ । पौडी खेल्ने क्रममा पानीमा डुबेर गम्भीर घाइते भएका रिजनको चौपट्टा अस्पताल हुँदै भैरहवा मेडिकल कलेजमा थप उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
जङ्गली हात्तीको आक्रमणबाट मृत्यु
बर्दिया, बाँसगढी नगरपालिका-८ स्थित नव प्रभात मध्यवर्ति सामुदायिक वनमा जङगली हात्तीको आक्रमणबाट सोही नगरपालिका-८ भैसासुर बस्ने ७८ वर्षीय नरेश्वर सापकोटाको बुधबार दिउँसो मृत्यु भएको छ । सोही ठाउँ बस्ने ६० वर्षीय भक्त बहादुर मल्लसँग उक्त वनमा च्याउ खोज्न गएका उनलाई अचानक जङगली हात्तीले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको र मल्ल भागी सकुशल रहेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
मृत अवस्थामा फेला
काठमाडौँ, काठमाडौं महानगरपालिका-२५ ज्याठा डेरा गरी बस्ने हाल वास्तविक नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय गोपाल सिंह नाम गरेका व्यक्ति आफ्नै कोठामा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
सुर्खेत, सिम्ता गाउँपालिका-८ बस्ने ३८ वर्षीया पम्फा राना सोही ठाउँस्थित सामुदायिक वनमा बुधबार मृत अवस्थामा फेला परेकी छिन् । दाउरा लिन गएकी उनी साँझसम्म घर नफर्किए पश्चात आफन्तहरुले खोजतलास गर्ने क्रममा उक्त स्थानमा उनको शव फेला परेको हो ।
बारा, बिश्रामपुर गाउँपालिका-२ बैरेनिया बजारस्थित बाँसघारी नजिकै सोही गाउँपालिका-२ भरवलिया बस्ने २५ वर्षीय भादो बैठा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
चितवन, भरतपुर महानगरपालिका-१ ठिमुरास्थित नारायणी नदीको किनारमा हाल नाम,थर, बतन नखुलेका अन्दाजी ८० वर्षीया महिलाको शव बुधबार फेला परेको छ ।
रामेछाप, खाँडादेवी गाउँपालिका-४ पुछिघाटस्थित सुनकोसी नदीको किनारमा हाल हाल नाम,थर, नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
सिन्धुली, सुनकोशी गाउँपालिका-७ कानढुंग्रीस्थित सुनकोशी नदी किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरुष र फिक्कल गाउँपालिका-६ रत्नावतीस्थित सुनकोशी नदीको किनारमा हाल नाम,थर,वतन नखुलेकी महिला बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।







प्रतिकृया