स्वास्थ्य कार्यालयमा खानेपानीको अभाव
प्रकाशित मिति
२०७८ बैशाख २९ गते, बुधबार १२:०९
हुम्ला : जिल्लाको सिमकोट गाउँपालिका-१ मा रहेको कुम्लिक सामुदायिक स्वास्थ्य एकाइ कार्यालयमा खानेपानीको अभाव भएको छ ।स्वास्थ्य एकाइ सञ्चालन भएको सात वर्षभन्दा बढी भइसक्दा पनि खानेपानीको व्यवस्था नहुँदा शुद्ध पिउने पानीबाट कर्मचारी र सेवाग्राही वञ्चित हुनुपरेको हो ।
दैनिकजसो उपचार गर्न आउने बिरामीका लागि र सो स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीका लागि खानेपानी नभएपछि शुद्ध खानेपानीबाट वञ्चित हुनुपरेको सोही संस्थाका अनमी उषा भण्डारीले गुनासो गरिन् ।उनले भनिन, “दैनिक आएका बिरामीको घाउ सफा गर्न तथा अन्य कामका लागि पानी चाहिन्छ तर खोलाको पानी ल्याएर प्रयोग गर्नुपरेको छ ।” कर्मचारीलाई शुद्ध खानेपानी नभएपछि हाल दोजामखोलाबाट आउने धमिलो पानी पिउनुका साथै प्रयोग गर्नुपरेको बताइन ।
“स्वास्थ्य संस्थामा पानी ल्याएको भए यतिखेर खोलाको धमिलो पानी खानु पर्दैनथ्यो”, अनमी भण्डारीले भनिन् । स्वास्थ्य संस्थामा उपचारका लागि आएका बिरामीलाई समेत खानेपानीको व्यवस्था हुन सकेको छैन । उक्त स्वास्थ्य संस्थाका लागि पटक-पटक पानीको व्यवस्थाका लागि सिमकोट गाउँपालिका र प्रदेश सरकारलाई अनुरोध गर्दासमेत सुनुवाइ नभएको बताइएको छ । रासस







प्रतिकृया