• २१ असोज २०८३, बुधबार
  • ३ः०५ दिउँसो

आजदेखि देशभरका म्यानपावर बन्द, वैदेशिक रोजगारीका सबै प्रक्रिया रोकिँदै

प्रकाशित मिति

२०८३ भाद्र १ गते, सोमबार ०९:५९

१ भदौ २०८३ काठमाडौं – नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले आफ्ना मागप्रति सरकारले बेवास्ता गरेको भन्दै सोमबारदेखि देशभरका सम्पूर्ण म्यानपावर कम्पनी बन्द गर्ने घोषणा गरेको छ। म्यानपावर कार्यालयसँगै वैदेशिक रोजगारीमा श्रमिक पठाउने सम्पूर्ण प्रक्रिया पनि रोक्ने सङ्घले जनाएको छ।

National Life

सङ्घले यसअघि चरणबद्ध आन्दोलनअन्तर्गत पूर्व-अन्तिम श्रम स्वीकृति, नयाँ विज्ञापन तथा भिसा स्ट्याम्पिङ रोकिसकेको थियो। जारी श्रम स्वीकृति प्राप्त भएका श्रमिकको उडानका लागि दिइएको समयसीमा सकिएपछि सोमबारदेखि सम्पूर्ण काम–कारोबार ठप्प पार्न लागेको हो।

सङ्घका वरिष्ठ उपाध्यक्ष महेशकुमार बस्नेतका अनुसार प्रक्रिया पूरा भएका श्रमिकलाई आइतबार राति १२ बजेसम्म उडान गरिसक्न एक साताअघि नै सबै म्यानपावरलाई सर्कुलर गरिएको थियो। त्यसपछि भने वैदेशिक रोजगारीका लागि हुने सबै उडान रोकिने उनले बताए।

Classic Tech Mobile
Classic Tech Desktop

श्रम मन्त्रालयको टोलीसँग शुक्रबार भएको छलफलमा व्यवसायीका मागबारे ठोस सहमति हुन नसकेको सङ्घको भनाइ छ। मन्त्रिस्तरमा वार्ता हुन नसकेको र सरकारले समस्यालाई प्राथमिकतामा नराखेको आरोप सङ्घले लगाएको छ।

सोमबारदेखि काठमाडौंस्थित मुख्य कार्यालय तथा देशभरका शाखा कार्यालय, नयाँ विज्ञापन, अन्तर्वार्ता, रिक्रुटिङ प्रक्रिया, पूर्वनिर्धारित श्रमिक उडान तथा वैदेशिक रोजगारीसम्बन्धी सरकारी र प्रशासनिक काम–कारोबार बन्द हुनेछन्।

सङ्घका महासचिव हीराबहादुर डाँगीले जारी गरेको विज्ञप्तिमा आन्दोलन व्यवसायीको पेसागत अस्तित्व, सम्मान, अधिकार र दीर्घकालीन भविष्यसँग जोडिएको निर्णायक अभियान भएको उल्लेख गरिएको छ। मागको ठोस सम्बोधन र कार्यान्वयनको विश्वसनीय आधार नआएसम्म आन्दोलन फिर्ता वा स्थगित नगर्ने सङ्घले जनाएको छ।

सङ्घले वार्ताका लागि ढोका खुला रहेको बताए पनि सरकारबाट ठोस पहल नभएसम्म काममा नफर्कने अडान लिएको छ। साथै, निर्णयविपरीत लुकिछिपी वा वैकल्पिक माध्यमबाट कार्यालय सञ्चालन गर्ने सदस्य संस्थामाथि कारबाही गर्ने चेतावनीसमेत दिएको छ।

प्रतिकृया