कप्तानगञ्जमा कर्फ्यु उल्लंघनपछि सेना परिचालन, स्थिति नियन्त्रणमा ल्याउने प्रयास
प्रकाशित मिति
२०८३ श्रावण ११ गते, सोमबार ०१:०३
११ साउन २०८३ सुनसरी- सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज क्षेत्रमा कर्फ्यु आदेश उल्लंघन गर्दै प्रदर्शन भएपछि नेपाली सेना परिचालन गरिएको छ।
प्रदर्शनकारीले आगजनी र तोडफोड गरेपछि हतियारसहित नेपाली सेनाको टोली घटनास्थलमा पुगेको हो। स्थानीय प्रशासनका अनुसार सेना परिचालनपछि क्षेत्रको अवस्था नियन्त्रणमा ल्याउने प्रयास भइरहेको छ।

सुनसरी प्रहरीका प्रवक्ता डीएसपी चन्द्र खड्काले सुरक्षा अवस्था सामान्य बनाउन सुरक्षाकर्मी परिचालन गरिएको बताए।

आइतबार राति दुई समूहबीच भएको झडप नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। घटनामा गोली लागेर नौ जना सर्वसाधारण घाइते भएका छन्, जसमध्ये एक जनाको अवस्था गम्भीर छ।
यसैबीच, सर्वसाधारण र सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी घाइते भएका छन्। उनीहरूको विराटनगरस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
घटनापछि जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार बिहानदेखि पाँच स्थानमा कर्फ्यु आदेश जारी गरेको भए पनि त्यसको उल्लंघन गर्दै विभिन्न स्थानमा प्रदर्शन जारी रहेको छ।




प्रतिकृया