कांग्रेस संस्थापनइतर समूहको बैठक आज, राष्ट्रिय भेलाको मिति तय हुने
प्रकाशित मिति
२०८३ असार २२ गते, सोमबार ०९:०६
नेपाली कांग्रेसको संस्थापनइतर समूहले आज (सोमबार) १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र केन्द्रीय सदस्यहरूको बैठक बोलाएको छ। निवर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वको प्यानलबाट महाधिवेशनमा निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको बैठक काठमाडौंको चुनदेवीस्थित नवस्थापित सम्पर्क कार्यालयमा दिउँसो १ बजे बस्ने निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार बैठकमा काठमाडौंमा उपलब्ध खड्का समूहका पूर्वपदाधिकारी र पूर्वकेन्द्रीय सदस्यहरू सहभागी हुनेछन्। बैठक बोलाउने निर्णय गत शुक्रबार खड्काको गल्फुटारस्थित निवासमा शीर्ष नेताहरूबीच भएको छलफलबाट गरिएको थियो। यही बैठकसँगै चुनदेवीस्थित सम्पर्क कार्यालय औपचारिक रूपमा सञ्चालनमा आउनेछ।

नेता मीन विश्वकर्माका अनुसार १५औँ महाधिवेशनको तयारी, संगठन विस्तार, आन्तरिक छलफल तथा बैठकहरू अब यही सम्पर्क कार्यालयबाट सञ्चालन गरिनेछ। संस्थापनइतर समूहले सातै प्रदेशमा भेला सम्पन्न गरिसकेको र अब राष्ट्रिय भेला आयोजना गर्ने तयारी गरेको जनाएको छ। आजको बैठकले राष्ट्रिय भेलाको मिति तय गर्ने अपेक्षा गरिएको छ।

नेता विश्वकर्माले हालै सम्पन्न प्रदेश भेलाहरूमा गत निर्वाचनमा कांग्रेसले बेहोरेको पराजय, त्यसको समीक्षा तथा पार्टीभित्रको एकतालाई सुदृढ बनाउने विषयमा छलफल भएको जानकारी दिएका छन्। उनका अनुसार ती छलफलबाट प्राप्त निष्कर्षलाई राष्ट्रिय भेलामार्फत थप संस्थागत गर्ने तयारी गरिएको छ।




प्रतिकृया