रमेश रुछेन राईलाई मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२
प्रकाशित मिति
२०८३ असार १४ गते, आईतवार ०३:१५
१४ असार २०८३ काठमाडौं- मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२ लेखक तथा अध्येता रमेश रुछेन राईलाई प्रदान गरिएको छ। मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आइतबार राष्ट्रिय सभागृहमा आयोजित विशेष समारोहबीच पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राईलाई उक्त पुरस्कार प्रदान गरिन्। मदन भण्डारी फाउन्डेसनले उनको अनुसन्धानमूलक कृति ‘श्वेतशार्दुल’ लाई पुरस्कारका लागि छनोट गरेको थियो।
पुरस्कारको राशि दुई लाख रुपैयाँ र सम्मानपत्र रहेको छ। इलामको सूर्योदय नगरपालिका–११, केराबारीका स्थायी बासिन्दा राईले राजनीति, विकास तथा समसामयिक विषयमा लामो समयदेखि लेखन गर्दै आएका छन्। उनले पुरस्कार ग्रहणपछि करिब १० वर्षको अनुसन्धान र परिश्रमपछि ‘श्वेतशार्दुल’ तयार पारेको बताउँदै उक्त कृतिमार्फत जननेता मदन भण्डारीको व्यक्तित्व, विचार र योगदानलाई नयाँ पुस्तासम्म पुर्याउने प्रयास गरेको उल्लेख गरे।

मदन भण्डारी फाउन्डेसनले प्रत्येक वर्ष मदन भण्डारीको जन्मजयन्तीका अवसरमा अध्ययन, अनुसन्धान, संस्मरण लेखन तथा प्रकाशनमार्फत उनको व्यक्तित्व, विचार, राजनीतिक जीवन र योगदानको दस्तावेजीकरण तथा प्रचारप्रसारमा उल्लेखनीय योगदान पुर्याउने व्यक्ति वा संस्थालाई ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ प्रदान गर्दै आएको छ।





प्रतिकृया